• १९ पुस २०८१, शुक्रबार

पाँचखाल सेज निर्माण अलपत्र

blog

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण भएको पाँचखाल विशेष आर्थिक क्षेत्रको प्रशासनिक भवन । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, कात्तिक १५ गते । सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पूरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन । सरकारले निर्यातजन्य उद्योगहरुको स्थापना गरी व्यापारघाट कम गरी औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले वि.सं. २०६८ भदौ २७ गते बसेको मन्त्री परिषद्को बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । 

तत्कालीन (२०६८ भदौ २७ गतेको) मन्त्रीपरिषद्को बैठक पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरे पनि मन्त्रीपरिषद्ले निर्णय गरेको सात वर्षपछि अर्थात् २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्ति भएको थियो । सेजको नाममा जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म सेजको लागि निर्माण गर्नुपर्ने पूर्वाधारलगायतको काम गर्न सकिएको छैन । 

सेज स्थापना गर्ने निर्णय गरिए पनि जग्गा प्राप्तिमा ढिलाइ भएपछि सेजको काममा ढिलाइ भएको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख तुलसीराम मरासिनीले सेजको लागि आवशयक पर्ने पूर्वाधार निर्माण तथा उद्योगहरु स्थापना गर्न आवश्यक पर्ने रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले सेजभित्र रहेका १४ हजार ११ वटा रुख कटान गर्नुपर्ने भएकोले डिभिजन वन कार्यालयमार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको लागि स्वीकृत दिने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । मरासिनीले रुख कटानको स्वीकृति पाए लगत्तै डिभिजन वन कार्यालयमार्फत रुख कटान र रुख कटानपछि सेज निर्माण हुने स्थानको जग्गा सम्याउने, जग्गाको वरिपरी घेरावार लगाउने लगायतका काम गरिने बताउनुभयो ।

सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । एक हजार रोपनी वन उपलब्ध गराए वापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ रकम उपलब्ध गराएको थियो । 

पाँचखाल सेज निर्माण अन्तर्गत हालसम्म सेजसम्म पुग्ने पहुँच मार्ग निर्माण, प्रशासनिक भवन निर्माण तथा सेज रहने स्थानमा तारवारको काम गरिएको छ ।  सेज निर्माण हुने एक हजार रोपनी जमिनमध्ये २० रोपनी जमिनको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमिक्त प्रमुख मरासिनीले सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) निर्माण सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र वातावरणीय व्यवस्थापन योजना (इएनटि) स्वीकृत भइसकेको बताउनुभयो । उहाँले सेजका लागि आवश्यक पर्ने प्रशासनिक भवनलगायतका काममा हालसम्म करिब १५ करोड ५३ लाख ४९ हजार सात सय रुपियाँ खर्च भएको बताउनुभयो ।

महादेवस्थान सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हरिचन्द्र तिमल्सिनाले विशेष आर्थिक क्षेत्रका लागि कटान गर्नुपर्ने रुख कटानका लागि वन विभागमा स्वीकृतीका लागि पठाइएकोमा विभागबाट दुई वटा सामुदायिक वनको क्षेत्रमा कुन वनमा कति रुख पर्छ भनेर छुट्याएर पठाउन निर्देशन आएकोले रुखहरु छुट्याउने काम भईरहेको बताउनुभयो । उहाँले कात्तिक महिनाभित्र रुख छ्ट्याउने काम सकिने बताउनुभयो । 

डिपिआर अनुसार पाँचखालमा स्थापना हुने सेजको लागि करिब १४ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । डिपिआर अनुसार सेजमा प्रशासनिक भवन, सेवा भवन, सीमा पर्खाल, बाल उद्यान, फोहोर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, ठुला तथा साना सवारी साधन पार्किङ, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, बिद्युतको सब–स्टेशनलगायतका संरचना निर्माण हुनेछन् । पाँचखाल सेजभित्र ५२ वटा निर्यातजन्य उद्योग स्थापना गर्न सकिनेछ ।