• ५ जेठ २०८१, शनिबार

विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्छु : नगरप्रमुख पन्थी

blog

नेपाली कांग्रेस रेसुंगा नगर कार्य समितिको आयोजनामा भएको विजय उत्सव समारोहमा बोल्दै रेसुंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख खिलध्वज पन्थी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, जेठ २ गते । रेसुंगा नगरपालिका नव निर्वाचित नगर प्रमुख खिलध्वज पन्थीले आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताउनुभयो । समृद्धि र समुन्नत नगरपालिका निर्माणको लागि आफु सबै भन्दा पहिले विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्ने बताउनुभयो । 

नगरको विजयी उत्सव समारोहमा बोल्दै नव निर्वाचित नगर प्रमुख पन्थीले आफु कुनै पनि लाभको लागि निर्वाचित नभएको बताउनुभयो । उहाँले राज्यश्रोतको दुरुपयोग गर्ने कसैलाई पनि नछोड्ने उल्लेख गर्दै नगरमा अब कसैले भ्रष्टचारको सपना समेत देख्न नपाउने बताउनुभयो । 

उहाँले सालझण्डी–दुर्गाफाँट–खज्र्याङ–तम्घास सडक कालोपत्रे गरेर बुटवलदेखि तम्घास ढाई घण्टामा आउने अवस्थाको सृजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रेसुंगा बहुमुखी क्याम्पसलाई गुणस्तरिय शिक्षाको हब र महेन्द्र, सिद्धबाबा तथा रेसुङ्गा जस्ता बिद्यालय नगरका गाउँ–गाउँमा पुराउने उल्लेख गर्नुभयो । 

त्यस्तै गुल्मी अस्पताललाई मेरो अस्पताल–हाम्रो अस्पताल बनाउने, बेरोजगार युवाहरुलाई उद्यमसंग जोड्न नगरबाट बिना धितो १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । 

अब कुनैपनि नागरिक दलको आस्थाका कारण मैले सिफारिस पाइन भनेर रुदै हिड्ने दिनको अन्त्य भएको उल्लेख गर्दै उहाँले निर्वाचनमा सहयोग गर्ने सवैलाई आभार प्रकट गर्दै पक्ष एवं प्रतिपक्षसँग सहकार्य गर्दै सुन्दर रेसुंगाको सपना पुरा गर्ने बताउनुभयो ।