• ५ जेठ २०८१, शनिबार

सुस्त गतिमा मतगणना कार्य हुँदै

blog

लुम्बिनी, जेठ २ गते । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा हुुँदा लुम्बिनी प्रदेशका पालिका प्रमुखहरूको नतिजा आउन सकेको छैन । गुल्मीको एक स्थानीय तहको प्रमुख र उपप्रमुखको नतिजा आए पनि अन्य पालिकाको आएको छैन । वडातर्फको नतिजा भने आउन थालेको छ । 

घोराही समाचारदाताका अनुसार जिल्लामा मतगणना सुस्त गतिमा भइरहेको छ । राप्ती गाउँपालिकामा शुक्रबार रातिबाटै गणना सुरु भएको थियो भने अधिकांश पालिकामा शनिबार बिहानबाट गणना सुरु भए पनि अहिलेसम्म आधा पनि गणना हुन सकेको छैन । मतगणनाको नतिजामा पर्खिरहेका नागरिकले गणना ढिला भएको भन्दै आक्रोशसमेत पोख्ने गरेका छन् । 

मतगणनामा बसेका सबै प्रतिनिधिलाई चित्त बुझाउनुपर्ने बाध्यता, धेरै उम्मेदवार र मतदाता भएका कारण गणनामा ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभएको छ । “जे चिज पनि बानी परेपछि छिटो गरिन्छ । अहिले मतगणनाको काम पनि त्यस्तै भएको छ,” मुख्य अधिकृत थापाले भन्नुभयो, “सबै प्रतिनिधिलाई चित्त बुझाउनुपर्ने बाध्यतासँगै धेरै उम्मेदवारले गर्दा गणनामा ढिलाइ भएको छ ।” उहाँका अनुसार अहिले प्रतिघण्टा १२५ भन्दा बढी मतगणना भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत थापाका अनुसार जिल्लाभरको नतिजा सार्वजनिक हुन पाँच दिन लाग्न सक्छ । 

“सुरुमा घोराहीमा छ स्थानमा मतगणना भइरहेको थियो तर अहिले बढाएर आठ स्थानमा गणना हुन थालेको छ,” उहाँले बताउनुभयो, “जसले गर्दा गणना थोरै भए पनि छिटो हुने विश्वास छ ।” जिल्लाका दस स्थानीय तहमा दुई लाख ८३ हजार ९८ खसेको थियो । 

वडामा मिश्रित परिणाम 

जिल्लाका एक सय वडामध्ये २० वडाको मत परिमाण सार्वजनिक भएको छ । अन्य वडामा मतगणना जारी छ । सार्वजनिक भएको मत परिणामअनुसार नेपाली काँग्रेसले सातवटा वडामा जितेको छ । त्यसैगरी माओवादी केन्द्र र एमालेले छ÷छ र एक वडामा स्वतन्त्रले जितेका छन् ।  

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसले बङ्गलाचुली गाउँपालिका–१ मा विष्णु कुँवर र २ मा मैते पुन, दङ्गीशरण–१ मा रमेश भण्डारी र ३ मा सुकलाल चौधरी, गढवा–७ मा राहुलदेव चौधरी, बबई–२ मा टेकबहादुर वली र लमही नगरपालिका–९ मा भेषबहादुर केसी विजयी हुनुभएको छ । उहाँहरू सबै प्यानलसहित निर्वाचित हुनुुभएको हो । 

त्यसैगरी माओवादी केन्द्रबाट राप्ती गाउँपालिका–९ मा रिमबहादुर सुनारी मगर, शान्तिनगर गाउँपालिका–१ मा जङ्गबहादुर पुन, राजपुर गाउँपालिका–६ मा श्यामबहादुर रोका र ७ मा पुष्करलाल वली, बङ्गलाचुली गाउँपालिका–३ मा शोभाराम विश्वकर्मा र ८ मा झविन्द्र गाहामगर विजयी हुनुभएको छ । 

जिल्लामा अहिलेसम्म नेकपा एमालेले छ वडामा जित हासिल गरेको छ । जसअन्तर्गत गढवा गाउँपालिका–८ मा अब्दुल खालिक सिद्दिकी, राजपुर गाउँपालिका–१ मा सूर्य चौधरी, दङ्गीशरण गाउँपालिका–२ मा डम्बर खत्री र बबई गाउँपालिका–१ मा प्रेमबहादुर डाँगी र ३ मा मानबहादुर केसी विजयी हुनुभएको छ । जिल्लाका दस स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि वडा नम्बर १७ मा जेठ ३ गतेलाई निर्वाचन सारिएको छ । तुलसीपुरका अन्य वडामा भने चुनाव भइसकेको छ । 

स्वतन्त्र उम्मेवार  विजयी

दाङमा एक जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । शान्तिनगर गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका २७ वर्षीय सुनील वली वडाध्यक्षमा विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारलाई ३२ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । वडाध्यक्षमा निर्वाचित वलीले ६२९ मत ल्याउनुभएको छ । उक्त वडामा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५९७ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि वलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । उक्त वडा नेपाली काँग्रेस दाङका जिल्ला सभापति शङ्करप्रसाद डाँगीको वडा हो । 

स्वतन्त्र उमेदवार मल्ल विजयी

बर्दिया समाचारदाताका अनुसार मधुवन नगरपालिका–३ मा बागी उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मधुवन नगरपालिकाका ४७ वर्षीय नारायण मल्ल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले ७२६ मत ल्याउनुभएको छ । यसअघिको स्थानीय निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त वडामा नेकपा एमालेका उम्मेदवार वासुराम थारूले ५४९ मत प्राप्त गर्नुभएको छ ।