• १५ कात्तिक २०८१, बिहिबार

व्यापारभन्दा संस्कृति जोगाउन हुक्काहुक्कीको व्यापार

blog

सडक पेटीमा बेच्दै गरेको हुक्काहुक्की । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक १३ गते । एक साता यतादेखि सडक पेटीमा लस्करै बसेर दर्जन बढी मानिस हुक्काहुक्की बेचिरहेको भेटिन्छ । उहाँहरूको यो व्यापार बढीमा एक साता अर्थात् दीपावलीका दिनसम्म मात्र चल्ने हो । 

तर उत्साह र उमङ्ग एवम् रहरले उनीहरूले यो व्यापार गरिरहेका छैनन् । आफ्नो कला, कौशल तथा संस्कृति जोगाउनका लागि हुक्काहुक्कीको व्यापार गरिरहेको बताउँछन् । यसरी हुक्काकुक्की बेच्ने र खरिद गर्ने चलन भने सहर बजारमा मात्र भेटिने गरेको छ । 

ग्रामीण बस्तीका मानिसहरू सहरमा बसोबास गर्न थालेपछि उनीहरूका सन्तानलाई हुक्काहुक्की संस्कृतिप्रति चेतना जगाउन र निरन्तरता दिन सहरमा यसको व्यापार सुरु गरिएको श्यामकुमार यादवले बताउनुभयो । उहाँसँगै सडक पेटीमा सुशीला देवी एक सातादेखि हुक्काहुक्की (हुक्कापाति) बनाएर बेच्न व्यस्त हुनुहुन्छ । सडक पेटीमै दिनभर खाना नास्ता खाएर हुक्काहुक्की बनाएर बेच्न व्यस्त सुशीला आम्दानीसँगै संस्कृतिलाई पुस्तान्तरण गर्न व्यापार गरिरहेको बताउँछिन् । 

सनपाट (पटुवा वा जुट)को ठडरी (सन्ठी)बाट हुक्कापाति बनाइन्छ । अहिले मूल कृषक खेतीपाती गर्न छोडेर सहरमा बस्न थालेपछि यसको खेती पनि थोरै मात्रामा भइरहेको छ भने हुक्कापाति खरिद गरेर मनाउनु परिरहेको छ । गाउँघर बस्न छोडेको धेरै भयो, खेतीपाती पनि बटैयामा गरिरहेकोले सनपाटको खेती पनि कमै मात्रामा भइरहेको राजविराज निवासी डोमन साहले हुक्कापाति बनाउन आवश्यक सामग्री नहुँदा खरिद गर्नु परेको बताउनुभयो । "आफू हुक्काहुक्की बनाउन सीप जानेको बताउँदै," उहाँले भन्नुभयो, "नयाँ पुस्ताले हुक्काहुक्की बुझ्छन की बुझ्दैनन् भन्न गाह्रो छ ।" 

सहर केन्द्रित पुस्तालाई हुक्काहुक्की संस्कृतिलाई बुझ्न बुझाउन र यो परम्परालाई जीवन्तता दिन हुक्काहुक्की बनाएर बेच्ने गरेको बेचनीदवीको कथन छ । हुक्काहुक्कीको आकार प्रकार अनुसार रु. १५ देखि बढीमा ५० रुपियाँसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो ।

"पुस्तौँदेखि घरबाट दरिद्र भागोस्, शान्ति छाओस्, लक्ष्मीको वास होस् भन्ने विश्वासका साथ लक्ष्मी पूजा अर्थात् दीपावलीका दिन प्रत्येक घरको छानामाथि एक-एक वटा हुक्काहुक्की राख्ने चलन रहेको ८५ वर्षीय सीतावीप्रसाद साहले बताउनुभयो । खेतमा धान काट्न सुरु गर्न र खान अघि थोरै धान काटेर  भुटेर च्युरा बनाएर नमान (पूजा) गरिन्छ", उहाँले भन्नुभयो, "नमान गर्न धान भुट्न दाउरामा घरमाथि राखिएको हुक्कापातिलाई प्रयोग गरिन्छ । ती च्युरा चढाएपछि मात्र नयाँ धान प्रयोगमा ल्याउने चलन छ ।"

किन खेलिन्छ हुक्कापाति ? 

तिहारमा हुक्काहुक्की एक संस्कृति हो । धन्यधान्यकी देवी लक्ष्मीपूजाका दिन साँझ खेलिने हुक्काहुक्कीको माग बढे पनि यसको महत्वबारे नयाँ पुस्ताका कमैलाई थाहा छ । दीपावली आधुनिक रङ्गीचङ्गीमा परिष्कृत भएपछि परम्परागत लोकसंस्कृतिलाई कम महत्त्व दिएको कारण हुक्काहुक्कीको महत्त्व कमलाई थाहा छ । तर पनि, हुक्काहुक्की अनिवार्य रूपमा चाहिने गरेको छ । 

मैथिली भाषामा बुढापाकाहरू भनिन्थ्यो, हुक्कापाथि खेलै छि, मच्चर (दरिद्र) भगावै छि । अर्थात् हुक्काहुक्की खेलर घरबाट दरिद्रलाई भगाएर लक्ष्मीको बास होस् भन्ने विश्वासका साथ हुक्काहुक्की खेलिने गरिन्छ । सो दिन बालबालिकाहरू सामूहिक रूपमा हुक्काहुक्की खेलेर रमाइलो पनि गरिन्छ । 

यस्तै, खेतमा उत्पादन भएको जुट वा पटुवाको ठडरी (सन्ठी) र रारीको खर मिसाएर टुप्पोमा प्लसको (जोड) आकारमा सुकेको जुटबाट(ओदार) नै बाँधेर आवश्यकता अनुसार लम्बाइमा हुक्काहुक्की बनाउने गरिन्छ । आफ्नो प्रत्येक घरको छानामा एक/एक वटा हुक्काहुक्की राख्ने गरिन्छ । एउटा वा घरमा छोरा भएको सङ्ख्या जति हुक्काहुक्की मुख फेर्न बनाएको हुन्छ । लक्ष्मीपूजाका दिन साँझ घरको जेठो छोरा वा सबै छोराले घरको देउता अगाडि बालिएको दीपबाट हुक्काहुक्कीको टुप्पोमा आगो सल्काएर मन्त्रोचारण गर्दै बाहिर डगर, चौरहा वा खेतमा गएर फेर्ने (खेल्ने) गरिन्छ, यसलाई नै हुक्काहुक्की भन्ने गरिन्छ । 

त्यसपछि परिवारका अन्य सदस्यले मात्र हुक्काहुक्की फेर्ने गरिन्छ र सामूहिक रूपमा खेल्ने गरिन्छ । हुक्काहुक्की आधी जलेकै अवस्थामा भुईँमा राखेर तीन वा पाँच पटक नाघेर बचेको भाग लिएर तरकारी बारीमा गाड्ने चलन छ । यसरी आधा जलेको हुक्काहुक्की खेतबारीमा गाडेपछि राम्रो फल्ने, कसैको आँखा नलाग्ने जनविश्वास छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा लगायत सबै जिल्ला यसरी नै हुक्काहुक्की खेलेर मनाइने गरिन्छ । 


बिक्री बढी, सहयोग कम 

एक दशकअघिसम्म हुक्काहुक्की किन्ने र बेच्ने चलन थिएन । सबैको खेतमा  जुटको खेती हुन्थ्यो र सन्ठी निस्किएपछि हुक्कापाति बनाइन्थ्यो, वयोवृद्ध सीताबीप्रसाद साह भन्नुहुन्छ, जसको खेतमा जुट खेती हुँदैन उनीहरूलाई सितैमा सहयोग गर्दथ्यौँ । अहिले पनि गाउँघरमा सितैमा मागेर बनाउँछन् तर सहरमा सहयोगको वातावरण पनि छैन जसले गर्दा किन्नुपर्ने बाध्यता छ । बुढापाकाले आफ्नो बालबालिका र छिमेकीको लागि पनि हुकापाती बनाएर खेल्न दिइन्थ्यो । तर अहिले यस्तो चलन हराएको उहाँको भनाइ छ । 

यस वर्ष बिहीबार दीपावली मनाइँदै छ । आज मङ्गलबार धनतेरसबाट तिहार सुरु भएको छ भने बुधबार काग तिहार, बिहीबार कुकुर तिहार, लक्ष्मी पूजा वा दीपावली, शनिबार गोवर्धन पूजा र आइतबार भाइटीका गरी यस वर्षको तिहार पर्व सम्पन्न हुन्छ ।