• १९ असार २०८१, बुधबार

बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

blog

बोगटान फुड्सील गाउँपालिकामा विजयी अध्यक्ष कमल बहादुर गड्सिला र उपाध्यक्ष विष्ना देवी बम । तस्बिर : गोरखापत्र

केशवचन्द्र महरा 

दिपायल,  जेठ २ । बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्ना देवी बम विजयी हुनुभएको छ ।

अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी हुनुभयो । उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी हुनु भएको हो । गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार हस्तबहादुर बुढाले २ हजार २४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार डीलबहादुर बमले एक हजार ९ सय ३४ मत प्राप्त गर्नुभयो ।


उपाध्यक्षमा कांग्रेस उमेदवार विष्ना देवी बम २ हजार ६३ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार ज्ञानु मल्ल बमले एक हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । अर्का प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवार कलावती कुमारी चिमालले एक हजार ८ सय ७१ मत प्राप्त गर्नुभयो ।

बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडाहरु मध्य २ वटा वडामा नेकपा (एमाले),  दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) र बाँकी ३ वटा वडाहरुमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा विजयी हुनुभएको गड्सिला २०७४ मा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।