• ६ जेठ २०८१, आइतबार

मतगणनामा फर्जी मतपत्र भेटिएपछि झपड, पाँच जना घाइते

blog

रेखीराम राना

पाल्पा, जेठ १ गते । मतगणनाको विषयमा विवाद भएपछि पाल्पाको रम्भामा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । भीड नियन्त्रण गर्न नसकेपछि शसत्र प्रहरी र नेपाल प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । 

भीड नियन्त्रण गर्ने क्रममा प्रहरीतर्फ तीन जना र दुई जना अन्य सहभागी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा–५, ताहुँको मत गणना गर्ने क्रममा ७४ वटा फर्जी मतपत्र भेटिएको गठबन्धनमा आबद्ध दलहरूको आरोप छ । गठबन्धनमा आबद्ध दलहरू विज्ञप्ति निकाल्दै पुनः मतदान गर्नुपर्ने र मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

विवाद भएको विषयमा सहमतिका लागि पटक–पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । मतगणना गर्ने क्रममा फर्जी भेटिएको मतपत्र बारेमा दलका नेताहरूबीच छलफल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । 

आइतबार बिहान दलका नेताहरू बसेर मतपत्र सङ्ख्याको यकिन गरेपछि कसरी अगाडि बढ्ने भन्ने सहमति भएको थियो उहाँले भन्नुभयो । तर मतगणना गर्ने कर्मचारीले पतपत्रको हिसाब मिलाउन नसकेपछि विवाद बढेको हो । 

विवाद बढेपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । अहिले भने भीड नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।