• १० मंसिर २०८१, सोमबार

लयमा फर्कियो सेतीखोला

blog

तम्घास समाचारदाता

तम्घास, कात्तिक १२ गते । असोज पहिलो सातासम्म सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शालिग्राम दर्शन गर्नका लागि समस्या देखा परेको थियो । अहिले सेतीखोला आफ्नै लयमा बगेपछि र पानीको बहाव कम भएपछि नजिकै गएर दर्शन गर्नका लागि सहज भएको छ । पहिले शिला शालिग्रामसम्म जाने बाटोमा खोला बगेपछि नजिकै गएर शिला शालिग्राम दर्शन गर्न समस्या थियो ।

सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शिला शालिग्रामको अस्तित्व नै मेटिने हो कि भनेर कतिपयले चिन्तासमेत व्यक्त गर्न थालेका छन् । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीबेनीमा रहेको शिला शालिग्राम दर्शन गर्न गल्याङ नगरपालिकाबाट आएका सन्तोष भट्टराईले पहिले टाढैबाट दर्शन गरेर फर्किएको र अहिले नजिकै गएर पूजाआजा गरी आएको बताउनुभयो । 

शिला शालिग्राम संरक्षणका लागि सबैले समयमै ध्यान नदिए यसको अस्तित्व सङ्कटमा पर्ने स्थानीय मिना थापाले गुनासो गर्नुभयो । यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकार तिनै तहको संयुक्त प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

यसका साथै शिला शालिग्राम संरक्षणमा पनि सरोकारवालाको ध्यान जान सकेको छैन । शिला शालिग्राम वरपरबाट लगाइएको पर्खाल पनि भत्किएको छ । यसका कारण शिला शालिग्राम परिक्रमा गरेर दर्शन गर्ने अवस्थासमेत नरहेको र दर्शन गर्नेका लागि पनि जोखिम रहेको छ । तीन जिल्ला र दुई प्रदेशको सङ्गमस्थलमा शिला शालिग्राम रहे पनि संरक्षणमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले चासो देखाएका छैनन् । पर्खाल भत्किएको करिब पाँच वर्ष पुग्दा समेत पुनः पर्खाल लगाउने र संरक्षणमा कसैको ध्यान नजानुले धर्मकर्मप्रतिको विश्वास घट्दै गएको आफूलाई लागेको गुल्मीका ८३ वर्षीय खिमानन्द पाण्डेले दुःखेसो पोख्नुभयो । 

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सेतीखोलाले धार परिवर्तन गरेकै कारण शिला शालिग्राम दर्शन गर्नबाट वञ्चित हुनु परेको स्वीकार गर्नुभयो । सेतीखोलाको पर्वततर्फबाट लगाइएको पर्खालका कारण उक्त समस्या देखा परेको उहाँको तर्क छ । शिला शालिग्रामको प्रचारप्रसार र दीर्घकालीन सोचका साथ पहिले तीन जिल्लाका तीन वटै स्थानीय सरकार एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

शिला शालिग्रामको संरक्षणका लागि एक पटक संयुक्त बैठक बसेर विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने गरी योजना बनाएको तर उक्त योजना कार्यान्वयन गर्न दुई स्थानीय सरकारले चासो नदेखाएको उहाँको आरोप छ । स्थानीय सरकारको बजेटबाट शिला शालिग्राम संरक्षण गर्न नसकिने भएकाले प्रदेश र सङ्घीयबाट उचित बजेटको व्यवस्था गर्नुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।