• १३ कात्तिक २०८१, मङ्गलबार

खर काट्न भारत जान्छन् नेपाली विद्यार्थी

blog

बैतडी समाचारदाता

बैतडी, कात्तिक १२ गते । भारतका वनपाखामा नेपाली महिला र बालबालिका खर काट्ने काममा व्यस्त हुन थालेका छन् । भारतीय किसानले दैनिक ज्यालादारीमा खर कटाउने भएकाले मौसमी रोजगारीका लागि झुलाघाटबाट कात्तिक पहिलो साता एक हजार नेपाली पिथौरागढ पुगेका छन् ।   झुलाघाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार कात्तिक १ देखि ९ गतेसम्म एक हजार ४४ जना नेपाली भारत गएको तथ्याङ्क छ । यीमध्ये ४०१ जना महिला रहेका छन् । कामको खोजीमा १८ देखि २० वर्ष उमेर समूहका युवा सीम पारि गएको झुलाघाट सीमा प्रहरी चौकीका इन्चार्ज गङ्गाराम टमटाले बताउनुभयो ।  

दसैंतिहारका बेला विद्यालय बिदा भएकाले खर काट्न जानेमा अधिकांश विद्यार्थी सहभागी छन् । नाकाबाट बाहिरिनेमा युवाको उमेर खुल्ने कागजपत्र हेरेर मात्रै सीमापारि जान दिएको चौकी इन्चार्ज टमटाले बताउनुभयो । भारतमा खर काट्ने सिजन भएकाले गाउँबाट २० जना विद्यार्थी भारतको पिथौरागढ हिँडेको सिगास गाउँपालिका–१ को पञ्चोदय माविका व्यवस्थापन समिति अध्यक्ष भानसिंह धामीले बताउनुभयो । उहाँले कापीकलमको जोहो गर्न बिदाको बेला हरेक वर्ष गाउँबाट २०/२५ जना विद्यार्थी भारत जाने गरेको बताउनुभयो । भारतमा दैनिक पाँच सयदेखि आठ सय भारतीय रुपियाँ ज्याला पाउने गरेको खर काट्न भारत जाँदै गरेका नेपाली विद्यार्थी गम्भीर धामीले बताउनुभयो । एक महिना काम गर्दा २० देखि ३० हजार नेपाली रुपियाँ बचत हुने उहाँले बताउनुभयो । 

अधिकांश बालबालिकाका आमाबुवा पनि साथमै हुने भएकाले ठुलो परिवार सङ्ख्या हुनेले महिनामा ५० हजार आम्दानी गर्दै आएका छन् । स्वदेशमा दैनिक ज्याला मजदुरीको काम नपाएपछि सुदूरपश्चिमका अधिकांश जिल्लाका नेपाली मौसमी रोजगारी खोज्न भारतको पिथौरागढ पुग्ने गरेका छन् । हिउँदे खेतीका रूपमा गहुँ छरेर गाउँका पुरुष ठुलो सङ्ख्यामा भारत जाने तयारी गरिरहेको पुर्चौडी नगरपालिका–५, कुवाकोटका किरण पार्कीले बताउनुभयो । जिल्लाको पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथ चन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकाबाट भारत जानेको सङ्ख्या अधिक रहेको छ ।