• २५ मंसिर २०८१, मङ्गलबार

सामाजिक सञ्जाल : स्वच्छन्द तर घातक

blog

कर्म नगरी फल प्राप्ति भएसम्म मानिसले कर्म गर्दैन । आफूलाई सक्रिय राख्ने कि जेजेमा मन जान्छ त्यसमै भुल्ने भन्ने निर्णय हामी आफैँले गर्नु पर्छ । मनले भन्दा पनि विवेकले चल्ने हुँदा मानिस बुद्धिमान र सफल प्राणी भएको हो भन्ने भुल्नु हुँदैन । सामाजिक सञ्जालको प्रयोग बितेको मूल्यवान् समयलाई जोगाएर कसरी सिर्जनात्मक कार्यमा लगाउन सकिन्छ त ? 

सामाजिक सञ्जाल स्वच्छन्द प्रयोगका जोखिम

सामाजिक सञ्जालमा के गर्ने र के नगर्ने भन्नेमा धेरै मानिस द्विविधामा छन् । के काम गर्दा गैरकानुनी कार्य हुने हो ? आफ्नो मोबाइलमा र सामाजिक सञ्जालमा टाइप गरेको विषय अनुसन्धान निकायसमक्ष कसरी पुग्छ ? जस्ता जिज्ञासा आइरहँदा बुझ्न के जरुरी छ भने मोबाइल फोन प्रयोगकर्ताले एकाउन्ट खोलेर गरेका जुनसुकै क्रियाकलाप डिलिट गर्दैमा सधैँका लागि मेटिँदैन र चाहेको बखत अनुसन्धान निकायले कल वा मेसेज वा अन्य क्रियाकलापको डिटेल हेर्न सक्छ । त्यसैले पनि जथाभावी टाइप गर्ने, प्रतिशोध साँध्ने, जुनसुकै पोस्टमा कमेन्ट गर्ने वा सेयर गर्ने कार्य गर्नु आफ्नै लागि घातक हुन सक्छ । 

जथाभाबी फोटो, भिडियो वा रिल वा टिकटक जस्ता कुनै सामग्री अप्लोड वा सेयर गर्ने कार्य नगर्दा नै राम्रो हुन्छ । योबाहेक सामाजिक सञ्जालमा सम्बन्ध राख्दा अपरिचितसँग सतर्क रहनु पर्छ । अशोभनीय र दुव्यवहारपूर्ण व्यवहार गर्ने जोकोहीलाई निरुत्साहित गर्न अन्फ्रेन्ड गर्न सक्नु पर्छ । कसैले आलोचनात्मक ढङ्गले प्रस्तुति दिएको छ भने पनि आफ्नो मान्यताका सम्बन्धमा मिठासपूर्ण ढङ्गले उत्तर दिइयो भने तनाव हुँदैन । सञ्जालमा गालीगलौज हुँदै हिंसामा उत्रने प्रवृत्तिका कारण धेरैको ज्यान पनि गएको छ । कतिको परिवार बिग्रेको छ भने सम्बन्धहरू पातलो हुँदै गएका छन् । 

के बुझ्न जरुरी छ भने प्रयोगकर्ताले के सामग्री सामाजिक सञ्जालमा प्रस्तुत गर्ने र के नगर्ने भन्ने निश्चित मानक बनाउनु पर्छ । किनकि सञ्जालमा राख्नु भनेको विश्वभरका जोकोहीले देख्ने र प्रतिक्रिया गर्ने विकल्प खुला हुनु हो । सञ्जालमा पोस्ट गर्नुअघि आफैँलाई प्रश्न गर्न सकिन्छ । कस्तो पोष्ट गर्दा अरूलाई उपयोगी हुन्छ ? कसैको आत्मसम्मानमा ठेस पो लाग्ने हो कि ? यो विषयलाई सामाजिक सञ्जालबाहेक अन्य उपयुक्त माध्यमबाट पो व्यक्त गर्न सकिन्थ्यो कि ? यी कुरा गरिरहँदा सामाजिक सञ्जालबाट राम्रा काम हुँदै नहुने भने होइन । पुराना साथीहरूबिच पुनः सम्बन्ध स्थापना हुन सक्छ । दुःखमा परेका व्यक्ति वा परिवारलाई सहयोग जुट्छ । प्राज्ञिक अनुसन्धान पनि सम्भव हुन्छ । जस्तो कि फेसबुक वा ट्विटरका सहायताले कुनै सबालमा साथीहरूको विज्ञ मत सङ्कलन खालको सर्वेक्षण गर्न सकिन्छ । 

सामाजिक सञ्जाल प्रयोग गरी मानवीय संवेदनाका विषय समाधानभन्दा पनि प्रचारबाजी र भिउज बढाउने माध्यमका रूपमा प्रयोग हुनु दुःखको विषय हो । चुनावका समयमा नियोजित हिसाबले जनमत सङ्कलन गरी नतिजा सार्वजनिक गर्ने र प्रभाव पार्ने कार्य पनि न्यु मिडियाबाट हुने गरेका छन् । अर्कोतिर नकारात्मक, असहमतिजन्य, आक्रामक र क्रोध पोखिएका पोष्ट नै पपुलर हुनुले सामाजिक सञ्जालको उद्देश्यउपर नै प्रश्न उठ्न सक्ने देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो विज्ञताभन्दा बाहिरको क्षेत्रमा गएर टीकाटिप्पणी गर्नुहुँदैन । अनभिज्ञ विषयमा मौनता साँध्नु नै उपयुक्त हुन्छ । कुनै विचार पोख्नुअघि पर्याप्त अध्ययन गरी प्रस्ट हुने अनि मात्र पोस्ट गर्नु पर्छ । अध्ययन भनेको उक्त विषयको सैद्धान्तिक तथा व्यावहारिक पक्षमात्र नभई पोस्ट भएको सामग्रीको विगत र क्रमिकता सम्बन्धमा समेत हुन सक्छ । 

सञ्जालको नियन्त्रित प्रयोग किन र कसरी ?

कुनै सामाजिक सञ्जालको एप चलाउने समय सीमा सेट गर्न पनि सकिन्छ । नोटिफिकेसन अफ मोडमा राख्न सकिन्छ, फोनलाई आफूबाट टाढा राख्न सकिन्छ, फोन फ्रि जोन र फोन फ्रि टाइम तोकेर अवलम्बनसमेत गर्न सकिन्छ । फोन अन गर्नेबित्तिकै देखिने स्क्रिनमा सोसल मेडिया एप नराख्न पनि सकिन्छ । त्यस्तै सोसल मिडियामा जाने समयलाई अन्य सिर्जनशील क्रियाकलापमा प्रतिस्थापन पनि गर्न सकिन्छ । एक अध्ययनका अनुसार कम्प्युटर वा स्मार्ट फोनको स्क्रिनमा प्रतिदिन ६ घण्टाभन्दा बढी बिताउनेलाई डिप्रेसनमा जाने जोखिम ज्यादा हुन्छ । सहज जीवनयापनका लागि पनि स्क्रिनटाइम न्यूनतम हुनु उपयुक्त भएको उक्त अध्ययनले सुझाएको छ ।

माया गर्नेसँग नजिकिने काइदा वा सदा नजिक रहने विधिका रूपमा सामाजिक सञ्जाल प्रयोग भएको देखिए पनि समयक्रममा भर्चुअल जीवनमा पनि माया बाँड्नेहरूका अपेक्षा चुलिँदै जाँदा घृणामा उत्रेको समेत पाइएको छ । व्यक्तिको मानसिक स्वास्थ्य बिग्रन जाने, चिडचिडाहट हुने, दिक्क मान्ने, एक्लो अनुभूति हुने जस्ता परिणाम आउनुमा सामाजिक सञ्जाल प्रयोगसँग सिधा सम्बन्ध पाइएको छ । रिल बनाउने र भ्यु कति भयो भनेर अरूसँग तुलना गरेर हेर्ने गर्दा अपेक्षा बढ्दै जाने तर अपेक्षाको सीमा नहुने हुँदा तनाव नहुने त कुरै भएन । 

सामाजिक सञ्जालमा जति बढी समय लगायो त्यति बेचैनी हुन्छ भनेपछि यसको समाधान भनेको जरुरी अवस्थामा बाहेक प्रयोग नगर्ने नै हो । सामाजिक सञ्जालको लतलाई उचाइ लाग्ने समस्यासँग सामञ्जस्य गरेर हेर्न सकिँदो रहेछ । जसरी बढी उचाइमा जाँदा लेक लाग्ने समस्याको सही समाधान कम उचाइमा आउनु हुन्छ, त्यसै गरी सामाजिक सञ्जालको ज्यादा प्रयोगबाट हुने समस्याबाट बच्ने उपाय भनेकै सामाजिक सञ्जालको प्रयोग घटाउँदै लैजानु नै हो । 

काममा ध्यान केन्द्रित गर्न र उत्पादकत्व उच्च राख्नका लागि सोसल मिडियाको प्रयोग बाधक नै हो । महत्वपूर्ण काम र जिम्मेवारीबाट टाढा राख्ने खालका निरन्तर आउने मेसेज आउने गरी एलर्ट मोडमा राख्नु पनि राम्रो परिणाम ल्याउनमा बाधक बन्छन् । काममा लाग्ने जागृति मात्र होइन रुचि रहेको कलामा क्षय हुन्छ, खण्डित हुन्छ । फलस्वरूप प्रति एकाइ उत्पादकत्व घटेर जान्छ । यो समस्याबाट पार पाउनका लागि आफ्नो काममा ध्यान केन्द्रित गर्ने वा अध्ययन अनुसन्धानमा सफलता पाउन वा निजी परियोजना सफल पार्न पनि अब आएर सोसल मिडिया प्रयोगमा कुनै खालको अङ्कुश आवश्यक छ चाहे त्यो आंशिक नै किन नहोस् । 

भर्चुअल रूपमा भन्नुपर्दा निरन्तर सम्पर्कको युगमा हामी छौँ । निरन्तर सजीव खालको अन्तरसम्बन्ध कायम गर्नु आवश्यक व्यक्तिसँगको प्रत्यक्ष सम्बन्ध र आत्मियतालाई पनि सोसल मिडियाको बढ्दो प्रयोगले भत्काएको छ । नजिकका व्यक्तिलाई टाढा गराएर टाढा रहेका व्यक्तिसँग भर्चुअल सम्बन्धमा रमाउनु कत्तिको उचित होला चिन्तन गर्नु जरुरी छ । त्यसैले पनि आफ्नासँग प्रत्यक्ष सम्बन्ध गाढा राख्नका लागि पनि सामाजिक सञ्जालको प्रयोग घटाउनु जरुरी छ । आफन्त, साथी र परिवारका सदस्यका लागि र अझ जीवनसाथीसँगको सम्बन्धका हकमा समेत यो विषय लागु हुने नै भयो । 

सशरीर उपस्थित भएको कुनै कक्षा वा कार्यक्रममा मन मस्तिष्क दिएर पूर्ण रूपमा उपस्थित हुनका लागि भर्चुअल सम्पर्कबाट बाहिर आउने आँट गर्नु पर्छ, महत्वबोध हुन सक्नु पर्छ । कुनै बैठक वा कार्यक्रम भइरहेको छ तर व्यक्ति मोबाइलमा सोसल मिडिया चलाइरहेको छ भने कार्यक्रमप्रति पूर्ण रूपमा ध्यान गइरहेको हुँदैन । 

राति सुत्नुभन्दा अगाडि लगातार सोसल मिडिया प्रयोग भएको छ भने निद्रा नलाग्ने समस्या सुरु हुन्छ, लागिहाले पनि निद्राको गुणस्तर घट्छ अर्थात् गहिरो निद्रा लाग्दैन । भनिन्छ कि मोबाइलको स्क्रिनबाट आउने निलो किरणका कारण व्यक्तिमा रहने जैविक घडीमा प्रत्यक्ष असर पुग्छ । बिहान उठ्नेबित्तिकै डिजिटल कन्टेन्ट हेर्नु दिनभरिको ऊर्जाका लागि बाधक हुन्छ भनिएको छ । मोबाइलमा सामाजिक सञ्जालको प्रयोगले सिर्जना गर्ने समस्याबाट पार पाउने उपाय भनेको स्क्रिन टाइन घटाउने नै हो । साँझ परेपछि मोबाइल तथा इन्टरनेटको कम प्रयोग गर्नु श्रेयस्कर मानिन्छ । 

भनिन्छ कि शोख र रुचिको चयन स्वस्थकर हुनु पर्छ । मुख्य काम जस्तो कि पढ्ने, लेख्ने, खाना बनाउने, बगैँचा सजाउने र अन्य सिर्जनशील परियोजना अघि बढाउने जस्ता कार्य जसबाट जीवनको स्तर बढाएर उपलब्धि हासिल हुने र आफूलाई खुसी राख्न सम्भव हुन्छ । सोसल मिडियाको बढ्दो प्रयोगले यी कामले कम महत्व पाउने र खुसी खोसिने जोखिम रहन्छ । 

सूचनाको बाढीलाई नियन्त्रण गर्न जरुरी रहेको आधुनिक परिवेशमा सूचनाको अथाह स्रोत रहेको डिजिटल संसारमा हामी छौँ । पाएको सूचना काम लाग्ने छ वा छैन भन्ने विवेचना गर्नका लागि पनि केही समय सोसल मिडियाबाट टाढा रही विवेचना गर्नपर्ने हुन्छ । अर्कोतिर आत्मसमीक्षासहितको व्यक्तिगत विकास नभई व्यक्तिगत लक्ष्य हासिल हुन र गर्न खोजेको काममा सफलता सम्भव हुँदैन, जसका लागि पर्याप्त समय उपलब्ध हुनका लागि पनि सोसल मिडियाको प्रयोग घटाउनु पर्छ । आधुनिक न्यु मिडियाको रूप लिइरहेको सामाजिक सञ्जालबाट पूरै टाढा रहन सम्भव छैन तर के कति समय कस्तो अवस्थामा प्रयोग भइरहेको छ भन्ने स्वअनुगमन हुन जरुरी छ । 

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष नै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी गरी विभिन्न १९ वटा सर्त प्रयोगकर्ताले पालना गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ । जसमा गर्न नहुने काममा बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्न वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न, कुनै समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउन पाइने छैन । यसै गरी, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवं ट्रोल बनाई प्रकाशन र प्रसारण गर्न, बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न रोक लगाइएको छ । अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न पाइँदैन । सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न, अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न, बालबालिकालाई हानि पु¥याउने सामग्री तथा बालयौन शोषण, यौन दुव्र्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न प्रतिबन्ध छ । 

 मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न, साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरण ः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोगमार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनु पर्छ), लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन, जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न, आतङ्कवादसम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न, सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न पाइँदैन । यीमध्ये अधिकांश विषय हाल संसद्मा विचाराधीन रहेको सामाजिक सञ्जालको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मसौदामा समेत परेका छन् । 

समाधानका उपाय 

सकिन्छ भने मुख्य काम भइरहेको समयमा फोन बन्द गरेर अलि टाढा राख्ने र काममा समर्पित हुनु नै उपयुक्त हुन्छ । त्यस्तै दैनिक कार्ययोजना बनाए जस्तै सोसल मिडिया प्रयोगको तालिका बनाउने र प्रयोग गर्ने गर्दा पनि समय सदुपयोग हुन सक्छ । आफैँसँग अनुमति लिएर मात्र सोसल मिडियाको प्रयोग गर्ने कला पनि नराम्रो होइन तर इमानदारिता भने आवश्यक पर्छ । कुन समय विन्दुमा कति अवधिका लागि मोबाइल वा सोसल मिडिया प्रयोग गर्ने भन्ने विषयलाई क्यालेन्डर वा योजना प्रयोग गर्नु उचित हुन्छ । यस्तो योजना वा क्यालेन्डरको पालना भने हुनु पर्छ । आफूले स्मार्ट फोन वा त्यसभित्रका एपमध्ये के कति समय के मा व्यतीत भइरहेको छ भन्ने रिसर्च गरेर रिमाइन्डर राख्न सकिन्छ । त्यस्तै स्क्रिन टाइम मापन गर्ने एपको प्रयोग पनि उपयोगी हुन्छ । टिकटक र फेसबुकमा एक घण्टाभन्दा बढी नरहने भइयो भने सोही खालको सेटिङ गर्न सकिन्छ । 

हाम्रो ध्यान भङ्ग गर्ने बाह्य स्रोतको कुरा गर्दा कुनै नौलो दृश्य, सामाजिक अन्तर्क्रिया, सङ्गित, फोन कल वा मेसेजको आवाज, मिश्रित आवाज, ठुलो आवाज निकाल्ने उपकरण वा साधन, एकपछि अर्को थपिँदै जाने सूचनाका स्रोत र बदलिँदो मौसम देखिन्छन् । त्यस्तै आन्तरिक स्रोतका रूपमा भोक, थकाइ लाग्नु, चिन्ता लाग्नु, बिमारी हुनु, दिउसै नानाचिज सपना देख्नु पर्छन् भने योबाहेक पनि मनोवैज्ञानिक रूपमा देखापर्ने अप्ठेरोपन र सिन्थेटिक फुडको प्रयोग पनि ध्यान बिचलित हुने कारण हुन सक्छ । 

साथीहरूसँग मिलेर नयाँ नयाँ स्थान भ्रमणमा जाने, उकालो हिँड्ने अर्थात् हाइकिङ गर्ने, बन्जी जम्पिङ, ¥याफ्टिङ, कायाकिङलगायतका गतिविधिमा सहभागी हुने विकल्प छन् । रुचि अनुसारका बाह्य खेल ब्याडमिन्टन फुटबल टेबलटेनिस भलिबल कवड्डी जस्ता खेल खेल्न पनि सकिन्छ । योबाहेक सङ्गीत सिक्ने तथा सङ्गीत कम्पोज गर्ने वा रियाज गर्ने पनि उपयुक्त हुन सक्छ । समूहमा रहेर काम गर्ने र समूहको आपसी सल्लाह अनुसार संवाद वा अन्य सिर्जनात्मक क्रियाकलाप गर्ने विषयलाई खुला राख्नु पर्छ । त्यस्तै हामी गाउँ क्षेत्रमा छौँ भने कृषि कर्मलाई थप व्यवस्थित बनाउने विकल्प हुन्छ नै । थरीथरीका तरकारी लगाउने, नयाँ खालका फलफूल जस्तै एभोकार्डो, किवी, ड्रागन फ्रुट उब्जाउने, स्थान अनुसार सुन्तला, कागतीलगायतका फलफूललाई थप व्यवस्थित रूपमा हुर्काउन सकिन्छ । सहरी क्षेत्रमा छौँ भने सानो भए पनि करेसाबारी होला, नभए कौशीखेती नै किन नहोस् हरेक दिन केही समय सो काममा समय दिन सकिन्छ । 

पुस्तक अध्ययन गर्ने, पैदल हिँड्ने, परिवारसँग समय बिताउने जस्तो कि सँगै फिल्म हेर्न जाने वा सँगै बसेर भजन वा कीर्तन गर्ने वा योग गर्नेलगायतका धार्मिक आध्यात्मिक र स्वास्थ्य सुधारका कार्यहरू यसमा पर्न सक्छन् । प्रयोगमा ल्याउन सकिने अन्य उपाय भनेको मोबाइल फ्रि जोन घोषणा र लागु गर्ने, एक दिनभरिमा (२४ घण्टामा) कति समय र कुन कुन बखत मोबाइल वा सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने निश्चित गरी त्यसमै सीमित हुने, आफ्नो सिकाइ वा पेसाको कुन पक्षमा मोबाइलले वा सामाजिक सञ्जालको प्रयोगले सहयोग गरेको छ भन्नेमा आफैँ प्रस्ट हुने । घरपरिवार, कार्यालय वा अन्य समूह वा क्लबको आचारसंहितामा मोबाइल प्रयोग र सामाजिक सञ्जाल प्रयोगको विषयलाई समावेश गर्न सकिन्छ । सामाजिक भेलामा, बैठक बसेका बखत, सेवा प्रवाह भइरहेको समयमा र आपतविपत्को सूचना आदानप्रदान गर्नेबाहेक अन्य शोकका बखत सामाजिक सञ्जाल प्रयोगलाई निषेधित गर्नु नै उपयुक्त हुन्छ । 

कानुन र स्वअनुशासन

सामाजिक सञ्जालको प्रयोग र साइबर सुरक्षासम्बन्धी कानुन निर्माणको प्रक्रियामा रहेको छ तर अहिलेको युवा पुस्ताले सामाजिक सञ्जालको उचित उपयोगभन्दा पनि दुरुपयोग हुन गै ज्यानै गुमाएकालगायत कैयौँ घटना घटिरहेका छन् । स्क्रिन टाइम लामो हुँदा पर्ने शारीरिक र मनोवैज्ञानिक असर देखिन थालेका छन् । प्रविधिलाई पूर्ण इन्कार गर्न सकिँदैन तर यसको उपयोग गरिरहँदा ज्यादाभन्दा ज्यादा सामूहिक गतिविधिमा सहभागी हुने, प्रकृतिको नजिक हुने र उद्देश्यपरक ढङ्गले ठिक्क अवधि मात्र मोबाइल र सामाजिक सञ्जालको उपयोग गर्नु श्रेयस्कर देखिन्छ । सामाजिक सञ्जाल, एआइ र यस्तै उदीयमान प्रविधिको सदुपयोगमा स्वअनुशासन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

Author

नेत्र सुवेदी ‘प्रयास’