• १० मंसिर २०८१, सोमबार

झिलिमिली तिहार

blog

कवियत्री शारदाकुमारी मानन्धर ।

शारदाकुमारी मानन्धर 

वर्षा बाढी र पहिरो पछिको रमाइलो चाड

सारा नेपालीको अत्यन्त मन पर्ने चाड ।

पशुपंक्षी, जनावर र व्यक्तिपूजा गरिने चाड,

बालक, युवा–युवती, बृद्धबृद्धा रमाउने चाड ।।


जताततै झिलिमिली बत्तीहरुले सजाइने

धनकी देवी लक्ष्मीको पूजा आराधना गरिने ।

दाजुभाइ र दिदीबहिनीविच माया गाँसिने,

चाड यो सयपत्री र मखमलीले शृङ्गारिने ।।


काग, कुकुर, गाई, गोरु, गोबर्धन पर्वतमा

पूजा गरिन्छ हाम्रो परम्परा र संस्कृतिमा ।

महपूजा पनि गरिन्छ नेवार समुदायमा,

नेपाल सम्बत्को न्हुँ–दं सुरु भएको दिनमा ।।


सबै मिली भैली–द्यौसी खेलिन्छ ठाउँ–ठाउँमा,

दानी दानवराज बली राजाको स्वागतमा ।

सेलरोटी पकाउने गरिन्छ प्रायः घर–घरमा,

अति स्वादिलो परिकार यो सम्पूर्ण नेपालीमा ।।