• २२ पुस २०८१, सोमबार

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान

blog

काठमाडौँ,  कात्तिक १०  गते । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पु¥याएको छ ।  यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।  

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।   

गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उहाँले बताउनुभयो  । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।  

अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको  माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ  । 

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।  

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन । 

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।  

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् । रासस