• १० मंसिर २०८१, सोमबार

समिल र ग्रिल उद्योग भारतीय कामदारकै भरमा

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक ९ गते । नेपाली कामको खोजीमा दैनिक बिदेसिएका बेला नेपालका समिल र ग्रिल उद्योग भने दक्ष कामदारको अभावमा दुःखले चलिरहेका छन् । नेपाली कामदार काम सिक्दै विदेश जाने क्रम बढेपछि भारतीय कामदारकै भरमा उद्योग चलिरहेको व्यवसायी बताउँछन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि निर्माणका काम धमाधम भइरहेका छन् । जसले गर्दा गाउँ गाउँमा  समिल र ग्रिल उद्योग खुलेका छन् । उद्योग खुल्ने क्रम बढे पनि दक्ष कामदारका अभावमा माग अनुसार सामान उत्पादन गर्न नसकिएको ग्रिल व्यवसायी दिनेश पौडेलले बताउनुभयो । १८ वर्षयता मोरङको पथरीशनिश्चरे–१ मा ग्रिल उद्योग सञ्चालन गर्दै आएका पौडेलले भन्नुभयो, “सहरीकरणसँगै फलामका झ्यालढोका, भ-याङलगायत फर्निचरका सामान प्रयोगमा आउन थालेका छन् । बजारको माग एउटा दुइटा उद्योगले धान्न सक्ने अवस्था छैन तर दक्ष कामदार पाइँदैनन् । नेपाली कामदार छ महिनाभन्दा बढी टिक्दैनन् । धेरैजसो काम सिकेर विदेशतर्फ लाग्छन् । केही आफैँ उद्योगी बन्छन् ।” 

केही वर्षयता ग्रिल व्यवसाय घाटा नहुने व्यवसायभित्र पर्छ । उद्योगी पौडेलले भन्नुभयो, “नेपाली कामदार नपाएपछि भारतीय कामदारको भर पर्नु पर्छ । ग्रिल उद्योगमा मात्र होइन काठ मिलमा काम गर्ने नेपाली भेट्नै गाह्रो छ ।” 

मोरङको कानेपोखरी–५ मा १३ वर्षयता काठ मिल सञ्चालन गर्दै आएका मनोज काष्ठ उद्योगका सञ्चालक मनोज थापाले उद्योग सञ्चालन गरेयता नेपाली कामदार भेट्टाउनुभएको छैन । उहाँले भन्नुभयोे, “नेपाली काम सिक्न मात्र आउँछन् । काम सिकेपछि काम गर्ने गरी बस्दैनन् । त्यसैले भारतीय कामदारकै भरमा उद्योग चलेका छन् । छ जना भारतीय कामदार १८ घण्टासम्म काम गर्छन् । गाउँ गाउँमा सामुदायिक वन छन् । सरकारले वनसँग नजोडिएका गाउँवासीलाई वन पैदावारमा पहुँच पु-याउन साझेदारी वनले उपभोक्ता समूहसमेत गठन गरेको छ ।” साझेदारी वन गठन भएपछि वन पैदावार निकासी हुने क्रमसमेत बढेको छ । जसले गर्दा बन्द हुन लागेका काठ मिलसमेत १८ घण्टासम्म सञ्चालन हुन थालेका छन् तर काठ मिलमा काम गर्ने दक्ष नेपाली कामदार पाइँदैन ।  

मोरङको कानेपोखरीमा मात्र सात वटा सामुदायिक वन उपभोक्ता समूह छन् । ती सबै सामुदायिक वनले वार्षिक ५० हजार सिएफटीभन्दा बढी काठ वनबाट निकाल्छन् । सबै काठ उपभोक्ताले चिरान गर्न काठ मिलमा लैजानै पर्छ । उपभोक्ताले आधा मात्र काठ चिरान गरे भने पनि २५ हजार सिएफटी काठ चिरान हुन्छ । काष्ठ उद्योगका सञ्चालक मनोज थापाका अनुसार २५ हजार सिएफटी काठ चिरान हुँदा २५ लाख रुपियाँ खर्च हुन्छ । २५ लाखको ४५ प्रतिशत रकम कामदारले लाने गर्छन्  ।