• १० मंसिर २०८१, सोमबार

पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। रघुगंगा माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले उद्घाटन गर्नुभएको हो । 

प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि सङ्घीय सरकारसँग आफूले पहल गरेको उहाँको भनाइ छ ।  

उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी र स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतले विद्यालय स्तरमा खेलकुद क्षेत्रको विकासका लागि जोड दिनुभयो ।  

भलिबल, एथलेटिक्स र कबड्डी विद्यातर्फ छात्र र छात्राहरूको १३-१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा विजेता विद्यालयलाई ५५ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद  ३५ हजार र २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । 

उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्र तर्फ अमर माविका सुजाब पुर्जा प्रथम,मुक्तिधाम माविका सङ्गम विक दोस्रो र ज्ञानदोय माविका रोशन भण्डारी तेस्रो हुनुभयो । यसैगरी  छात्रा तर्फ मुक्तिधाम माविकी सोनिया खड्का प्रथम,अमर माविकी सुप्रिया नगरकोटी दोस्रो र रघुगंगा माविकी कञ्चन भण्डारीले तेस्रो स्थान प्राप्त गर्नुभयो । प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ ।