• १० मंसिर २०८१, सोमबार

सहकारीपीडितको आपत्ति

blog

सन्तोष सुवेदी 

कास्की, कात्तिक ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन र सङ्गठित अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता, कार्यकर्ता देशभरबाट अहिले पोखरा केन्द्रित भएका छन् । 

सहकारीका पीडित बचतकर्ताले भने रास्वपाका नेता घरदैलोमा आएर धम्काउने र प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति पोखरा र सहकारी बचतपीडित सङ्घ कास्कीले बुधबार विज्ञप्ति निकालेर रास्वपाको घरदैलोप्रति आपत्ति जनाएका छन् । निष्पक्ष छानबिन र सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथाल्ने गरी पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडितलाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ भन्ने बेहोराको विज्ञप्ति छ । रास्वपाका कार्यकर्ताद्वारा पीडित लखेटिएको र पिटिएकोसमेत विज्ञप्तिमा समावेश गरिएको छ । 

पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितका पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोल टोलमा गरिएको भाषणले सहकारीपीडित गम्भीर भएको पनि विज्ञप्तिमा उल्लेख छ । एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको पीडितको भनाइ छ । रास्वपा सरकारमा हुँदा अर्थात् दुई वर्षअगावै हारगुहार गर्दासमेत सहयोग नगरेको आरोप उनीहरूले लगाएका छन् । अहिले आएर अनुसन्धानलाई प्रभावित पार्न खोजेको पीडितको निष्कर्ष छ । 

गत शुक्रबार लामिछानेलाई काठमाडौँबाट पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याएपछि शनिबारदेखि नै रविको बचाउमा समर्थकले आन्दोलन चर्काइरहेका छन् । बुधबारदेखि रास्वपाले घरदैलो कार्यक्रमसमेत गरिरहेको छ । रास्वपाले १० समूह बनाएर घरदैलो कार्यक्रम गरेको छ । आन्दोलनमा सहभागी हुन सबै पोखरेलीलाई अनुरोध गरिएको छ तर पनि आन्दोलनमा पोखरेलीको उत्साहजनक साथ नपाएको रास्वपा शीर्ष नेताले बताएका छन् ।