हेलो भाइबहिनीहरू, नमस्ते ।
यहाँ सुरुमै मैले तपाईंहरूलाई दुई वटा परिचित शब्दले अभिवादन गरेँ । यहाँ परिचित शब्द भन्नाले आफूले घरी घरी सुनेका, बोलेका वा लेखनमा प्रयोग गरेका शब्दहरू भन्न खोजिएको हो । एउटा शब्द हो ‘हेलो’ अनि अर्को शब्द हो ‘नमस्ते’ । एउटै वाक्यमा दुई भिन्न भिन्न भाषाका शब्दहरूको प्रयोग भएको छ, जसको प्रयोजन एउटै हो । ‘हेलो’ अङ्ग्रेजी भाषामा अभिवादनका लागि प्रयोग गरिन्छ भने ‘नमस्ते’ मूलतः संस्कृत शब्द हो । संस्कृत सम्भवतः सबै भाषाको जननी भाषा हो । संस्कृतका धेरै शब्द नेपालीमा जस्ताको तस्तै प्रयोग हुने भएकाले ‘नमस्ते’ लाई पनि नेपाली शब्द भन्दा हुन्छ । यो शब्द कसैसँग भेटिँदा वा छुट्टिँदा अभिवादन गर्ने शब्द हो । जुन शब्द साधारण बोलीचालीमा अत्यधिक प्रयोग हुन्छन् र हाम्रो लयमा लय मिलाएका हुन्छन्, त्यस्ता शब्दलाई साहित्यमा पनि सहज स्थान प्राप्त हुन्छ ।
कुरा त यतै पो अड्कियो है ? ‘हेलो’ र ‘नमस्ते’ मा । हुन त ठिकै हो, साना साना शब्दको पनि आफ्नै महत्व हुन्छ । शब्दलाई कोट्याउँदै र केलाउँदै जानुभयो भने हाम्रो आदिम समयमा शब्द कसरी निर्माण भए ? भाषा कसरी विकसित र समृद्ध भयो ? हाम्रो सभ्यता र संस्कृति कसरी मजबुत भयो ? यी यावत् कुराको उत्तर फेला पर्छ ।
म तपाईंहरूलाई एउटा कथा सुनाऊँ भन्दै थिएँ तर कुरा गर्दा गर्दै लर्बरिएर कता पो पुगे छु । वास्तवमा साहित्यमा लर्बराउनु पनि एउटा कला हो । शैली र अर्थका साथ पर परसम्म लर्बराउँदै जानु, बहकिनु अनि फेरि कलात्मक तरिकाले केन्द्र भागमा फर्किएर विषयको मियोमा बाँधिन सक्नु नै कुशल लेखन हो ।
अहिले यहाँ मलाई लर्बराउने र बहकिने सुविधा छैन किनकि मलाई कथा सुनाउनु छ । कथा त्यसो त आफैँमा कति नै लामो हुन्छ र ? यसलाई त तन्काउनु पर्छ नअल्झिउन्जेल, नचुँडिउन्जेल । पढ्नेले पढिरहोस् पुछारसम्मै सलल सरित प्रवाह झैं । आमाले कपासको बत्ती कातेको देख्नुभएको छ ? कथा त्यस्तै सङ्लो हुन्छ, तीन फन्को– पाँच फन्को– सातको फन्को पनि ।आउनुस् एउटा कथा भनौँ ।
कथा भन्नुभन्दा पहिला त्यो कथासँग जोडिएको स्थानको परिचय पनि त जरुरी होला ? ल हुन्छ ! एकचोटि पुगौँ कपिलवस्तु जिल्ला ।
कपिलवस्तुको प्रख्याति भगवान् गौतम वुद्धका कारण धेरै उँचा छ । यही तिलौराकोटमा राजा शुद्धोधनको राजदरबार थियो, जसको भग्नावशेषका चिह्न अहिले पनि छँदै छन् । यसै जिल्लामा पर्छ जखिरा ताल । अचेल जगदीशपुर ताल पनि भन्न थालेछन् । हामी त सानो छँदा ‘जखिरा’ मात्रै पो भन्थ्यौँ झन् । जखिराको अर्थ हुन्छ थुप्रो या भण्डार । यहाँ उहिले पानीको छिपछिपे धाप थियो रे । त्यसैलाई घेरा हालेर, बाँध उठाएर विशाल ताल बनाइएको छ जसलाई एसियाकै सर्वाधिक ठुलो मानव निर्मित ताल पनि भन्ने गर्दछन् । एक सय सन्ताउन्न हेक्टरमा फैलिएको यही तालको डिलैडिल हामी साइकल चलाएर फन्को लाउँथ्यौँ पूरै पाँच किलोमिटर । खाल्डाङ्खुल्डुङ परेको डिलको बाटो, त्यसैमा पनि वर्षायाममा त चिप्लिएर, उछिट्टिएर तालभित्रै माछा बन्न पुगिएला भन्ने पीर । अचेल भने बाटो पनि कस्तो सरर्र !
लौ जा ! यो त पर्यटनस्थलको बयान पो भयो । कथा खै ? पख्नोस् ! पख्नोस् !! आइहाल्छ । अघि नै भनिहालेँ । कथा कत्रो पो हुन्छ र ? तन्काउन सके पाँच हाते डोरी, नत्र भने जुइनो ।
जखिराबाट निस्किएको पानी बग्ने बडेमाको नहर छ । त्यसै नहरको डिलमा छ बाटो मान्छे, गाडी, घोडा हिँड्ने । उहिले त बाटो पूरै कच्ची थियो, पानी पर्दा हिलो, घाम लाग्दा धुलो । त्यही बाटोमा साइकलको घन्टी टिरिङ टिरिङ बजाउँदै, रमाउँदै, जिस्किँदै, ठाउँ ठाउँमा बिसाउँदै, पेडा र पानी खाँदै हामी तौलिहवा पढ्न जान्थ्यौँ । भाव मनोरम भए अप्ठेरा दिनहरू पनि सजिलै जाँदा रहेछन् । त्यो घामपानी, हुरीबतास, तातो हावा, जीर्ण बाटोमाथि साइकलको गनगन । बहाना गथ्र्यो साइकलले पनि । घरी चेन उत्रिन्थ्यो, घरी पाइडल फुस्किन्थ्यो, कहिले धुरा भाँचिन्थ्यो, कहिले सिट बाङ्गो पथ्र्यो । जिन्दगी पनि यस्तै हो– बिग्रिएका पार्टपुर्जा मर्मत गर्दै अगाडि बढ्नु पर्छ ।
एकदिन खै किन हो रहेछ ? म साथीहरूको बथानबाट चुँडिएर एक्लै परेछु । परेँ होला कुनै कारण । चुइँचुइँ साइकल चलाउँदै तौलिहवातिर जाँदै थिएँ । एक्लो यात्रामा न ठट्टा गर्नु, न रमाउनु । चुपचाप पसिना चुहाउँदै, पाइडल मार्दै जखिरा पार गरेर नहरको बाटो गुडिरहेको थिएँ– पानी र पेडालाई हेर्दै नहेरी ।
केही पर करिब सात आठ वटा कुकुरको बथान आफ्नै खेल तमासामा मस्त थियो । टोल टोलमा यस्ता बथान देखिनु नौलो कुरा थिएन । म तिनका सामुन्नेबाट साइकलमा लगभग गुज्रिसकेको थिएँ त्यत्तिकैमा खै किन हो ? बिनाकारण एउटा कुकुर भौँ भौँ गरेर भुक्यो । सबै कुकुर रमाइलो ‘मुड’ मा रहेछन् । मलाई निसाना बनाएर सबैले एकैचोटि भुक्दै लखेट्न थाले । म पछाडि फर्केर ‘हैट् हैट्’ भन्दै कराउँथेँ र साइकल झन् जोड जोडले दौडाउन खोज्थेँ । मेरो साइकल कुनै माउन्टेन बाइक त थिएन कि बेस्सरी दगुरोस् , अझै तेज, अझैं तेज । त्यस बेला मलाई मेरो वरिपरि मृत्युको बथानले घेरे झैं लागेको थियो ।
परबाट एउटा साइकल मतिर आउँदै थियो । मलाई लखेट्ने मृत्युको लस्कर फरक्क फर्किएर उतैतिर उसैका पछि लाग्यो र भुक्दै गयो । थाहा छैन त्यसपछिको उसको हाल । मेरो जस्तै भयो कि अझैं बेहाल ।
जब म निग्लिहवा, रामापुर हुँदै त्यही नहरनेर पुग्छु, झल्याँस्स तिनै कुकुरलाई सम्झिन्छु । चारैतिरबाट घेरा हालेर मलाई लुछ्न दौडिएका, भुक्दै भुक्दै ।
कुनै कुनै घटना मनबाट कहिल्यै नउखेलिने गरी गाडिँदा रहेछन् । बाल्यकालको मनोविज्ञानले जीवनभर नछोड्दो रहेछ । त्यसैले त बाल्यकाल स्मृतिको स्वर्णयुग हो– केही नबिर्सिने । भाइबहिनीहरू, तपाईंहरूलाई कथा भन्ने साह्रै मन थियो तर आज कथा सम्झनामा लर्बरायो, नहरमा साइकल लर्बराए झैं । अर्कोचोटि फेरि आउँला है ?