• १० कात्तिक २०८१, शनिबार

‘पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति’

blog

बद्रीप्रसाद पाण्डे पर्यटनमन्त्री

काठमाडौँ, कात्तिक ६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगत्मा चिनाउन सहयोग गर्ने पर्यटन क्षेत्रमा पनि पछिल्लो तीन महिनामा यस्ता कैयौँ कार्य पूरा भएको जनाएको छ । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पछिल्लो तीन महिनामा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने, पर्यटन ऐनको मसौदा तयार पार्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा विकास गर्ने विधेयक, संस्कृति नीतिको मसौदा, क्यासिनो नियमावलीको मसौदा मन्त्रीपरिषद्मा पेस गर्ने र नेपाल वायुसेवा निगमतर्फ सुधार योजनालगायतका काम भएको बताउनुभएको छ । 

पछिल्ला तीन महिनामा सरकारले लिएको लक्ष्य अनुसार छ हजार पाँच सय मिटरभन्दा तलका हिमाल खुला गर्ने विसं २०८१ असोज २२ गते मन्त्रीपरिषद्बाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको, ग्रेट हिमालयन ट्रेलको निर्माणतर्फ पाँच किलोमिटर ट्रेल निर्माण, लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने र भूकम्पबाट क्षतिग्रस्त भएका ९२० वटा पुरातात्त्विक महत्वका सम्पदामध्ये अघिल्लो आर्थिक वर्षमा आठ सय संरचनाको निर्माण सम्पन्न भएकोमा पछिल्लो तीन महिनामा थप पाँच वटा संरचनाको निर्माण पूरा भएको जानकारी दिनुभएको छ ।

उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई इन्धन, ग्राउन्ड ह्यान्डलिङ, पार्किङ, नेभिगेसनलगायतका छुट योजनासमेत अघि बढाइएको जानकारी दिनुभयो ।

त्यस्तै गरी पर्यटन ऐनको मसौदा राय सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन नीति, २०८१ को प्रारम्भिक नीतिको मसौदा तयार भएको, सङ्घीय भाषा ऐनको मसौदा तर्जुमा सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको, संस्कृति नीतिको मसौदा राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानको रायपश्चात् पुनः मन्त्रीपरिषद्मा पेस गरिने बताउनुभयो ।

नयाँ सरकार गठन भएको तीन महिना पूरा भएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहँदाको अनुभव कस्तो छ ?

मन्त्रालयका कामलाई अध्ययन र अभिरुचिका साथ अघि बढ्नुपर्ने भएकाले नीतिगत मेहनत, छलफल, अन्तर्क्रिया, सल्लाह सुझाव लिनुपर्ने अवस्था पार गर्दै यहाँसम्म आइपुगेका छौँ । मन्त्रालयको जिम्मेवारीमा आएको एक महिनाभित्रै भएका दुई जहाज दुर्घटनाको समेत तितो अनुभव समेटेका छौँ । नेपाली आकाशलाई कसरी थप सुरक्षित बनाउने भन्ने विषयमा सरोकारवालासँग विभिन्न चरणका छलफल गर्दै हाम्रातर्फका समस्याबारे समाधान गर्दै नीतिगत सुधारतर्फ अघि बढेका छौँ ।

सङ्घीयता अनुरूप हुने गरी पर्यटन नीति बनाउन गठित कार्यदलले हालसम्म कति काम ग¥यो ?

यसको मसौदा तयार भइसकेको छ तर यो मसौदामाथि थप छलफल गर्नुपर्ने, थप सरोकार राख्नुपर्ने हुन्छ । कतिपय विषय कानुन, अर्थ मन्त्रालयसँग जोडिएका हुन्छन् । नीतिसँग सम्बन्धित विषय सरकारको नीति अनुसन्धान प्रतिष्ठानसँग जोडिएको विषय पनि छ । सङ्घीयतालगायतका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगमा समेत जानुपर्ने भएकाले मन्त्रालयको तर्फबाट अन्तिम रूप दिइसकेका छौँ । थप राय सहमतिलाई समेत समावेश गरेर पर्यटन नीतिलाई अन्तिम रूप दिँदै छौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सेवाप्रदायक निकायमा अलग अलग गर्ने तयारी कहाँ पुगेको छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा विभाजन गर्ने मसौदा पहिले नै तयार भइसकेको थियो । राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा जानुपर्नेमा निष्क्रिय भएको अवस्था थियो । उक्त मसौदा अहिले अर्थ मन्त्रालय, कानुन मन्त्रालय हुँदै पुनः मन्त्रीपरिषद्मा पुगेर मन्त्रीपरिषद्को विधेयक समितिमा पुगेको छ । विधेयक समितिले पारित गर्नासाथ संसद्मा जान्छ । आउने हिउँदे अधिवेशनको सुरुवातमा नै यो ऐन हामी संसद्मा पु¥याउँछाैँ ।

नेपाल वायुसेवा निगम सुधारका काम अघि बढेका छन् ?

निगम सुधारका लागि थुप्रै अध्ययन भएका छन् । ती अध्ययनबारे मन्त्रालय आफैँले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ । ती अध्ययन विगतमा किन कार्यान्वयन भएनन् ? ती अध्ययनको एउटा अध्ययनको अर्काे अध्ययनसँग भिन्नता के छ ? समानता के छ ? त्यसको निष्कर्षमा पुग्ने क्रममा समानता के छन् र हामीले जानुपर्ने कहाँ हो ? अहिलेको व्यवस्थापनले समाधान दिन सक्दैन भने त्यसको विकल्प पनि केही छ कि भन्नेसम्मको अध्ययन गरिरहेका छौँ । हामी चाँडै त्यहाँको व्यवस्थापनलाई सुधार गर्ने र निगमलाई सुदृढ बनाउने बाटोमा एउटा ठोस र परिणाममुखी निष्कर्षमा पुग्छौँ ।

उड्डयन सुरक्षाका हिसाबले नेपाली आकाशमाथि विभिन्न प्रश्न उठ्दै आएका छन् । देशको समग्र उड्डयन क्षेत्र सुधार्न सरकारले कस्ता काम गरिरहेको छ ?

हाम्रो आकाश सुरक्षित छ । हाम्रो हवाई सुरक्षासँग सम्बन्धित रहेर युरोपेली युनियनलगायतका प्रतिनिधिसँग छलफल भएका छन् । हालै भारतमा सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पनि विभिन्न देशका पर्यटनमन्त्री द्विपक्षीय भेटवार्ता भएका छन् । भेटवार्ताका क्रममा हाम्रो देशको अवस्था, हामी आगामी दिनमा कसरी अगाडि बढ्दै छौँ भन्नेबारे प्रस्तुतीकरण गरेका छौँ । हाम्रो आकाश सुरक्षित छ भन्ने विषयमा थुप्रै सकारात्मक सुधार (इन्डिकेटर) देखिएका छन् । ती सुधारलाई गति दिँदै युरोपेली सङ्घले खडा गरेका प्रश्नको चित्तबुझ्दो हिसाबले नीतिगत, कानुनी र संरचनागत सुधार र जनशक्तिले प्राप्त गर्ने तालिम र यात्रुदेखि पाइलटसम्म जोडिएको ‘सेफ्टी कल्चर’ मार्फत अन्तर्राष्ट्रिय जगत्को अनुभव बटुल्ने र त्यसै प्रकारका कार्ययोजना बनाउने दिशामा अग्रसर छौँ ।    

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।