• ६ कात्तिक २०८१, मङ्गलबार

हिन्दु विवाहित महिलाले मनाए करवा चौथ पर्व

blog

कपिलबस्तुमा मनाइएको करवा चौथ पर्व । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), कात्तिक ५ गते । कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा हिन्दु धर्मावलम्बी विवाहित महिलाहरूले करवा चौथ पर्व मनाएका छन् ।

आफ्नो श्रीमानको दीर्घायु, सुख, सौभाग्य एवम् सफल दाम्पत्यको कामना गरी घरघरमा विवाहित महिलाले निराहार व्रत बसी करवा चौथ पर्व मनाएका हुन् ।

दिनभरि आइतबार उपवास बसेका व्रतालु साँझको समयमा चन्द्रमा उदाएपछि श्रीमानको मुख हेरेर यो व्रत तोडिने गरिन्छ । व्रत तोडेपछि उहाँहरू भोजन गर्ने गर्छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. ६ थुम्हवाकी मिना कोहारका अनुसार साँझको समयमा व्रतालु महिलाले सुहागनको हरेक सामग्री लगाएर व्रतमा बस्ने गरेको बताउनुभयो । प्रत्येक वर्ष कात्तिक कृष्णपक्षको चतुर्थी तिथिमा मनाइने यो पर्व खासगरी तराईका हिन्दु धर्मावलम्बीले मनाइँदै आएका छन् ।

यस पर्वको अनेकौँ पौराणिक कथा हिन्दु धर्मको ग्रन्थमा पाइन्छ । भगवान् शिव लगायतका देवीदेवताको उक्त पर्वमा श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको छ । सत्ययुगमा यमराजले सत्यवानको प्राण मारेको भन्दै सावित्रीले आफ्नो पतिको आत्मालाई रोकेको प्रसङ्ग रहेको छ । 

कथाका अनुसार सावित्रीले अन्न, जल त्यागी जिद्दी भई बसिरहेकाले यमराजको केही सीप नलागी र अन्त्यमा सत्यवान्को प्राण फिर्ता गरिदिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

त्यस्तै त्रेतायुगमा महाभारतमा उल्लेख गरेअनुसार पाण्डव समस्यामा रहेको समयमा द्रौपदीले भगवान् श्रीकृष्णको सल्लाहबमोजिम करवा चौथ व्रत गरेकाले पाण्डवको सङ्कट अन्त्य भएको महाभारतमा उल्लेख रहेको छ ।