• ५ कात्तिक २०८१, सोमबार

न्यायपालिकालाई लयमा फर्काउँछु : प्रधानन्यायाधीश राउत

blog

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत

काठमाडौँ, कात्तिक ५ गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रूपमा अघि बढाउने बताउनुभएको छ । सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको सामूहिक भेटमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलङ्क छवि भएका न्यायाधीशहरू रहेको दाबी गर्दै उनीहरूको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने अठोट र सङ्कल्प लिइएको पनि बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘‘निष्कलङ्क छवि भएका न्यायाधीशहरू छन् । त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रूपमा यसमा लैजाने हामीले अठोट र सङ्कल्प गरेका छौँ । यस निम्ति म तपाईँहरूको सहयोगको फेरि अपेक्षा गर्दछु । र सँगसँगै तपाईँहरूसँग यो समग्र देश, माटो, जनता र संविधानका लागि र तपाईँहरूको अभिव्यक्ति स्वतन्त्रताका लागि सँगसँगै तपाईँहरूसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईँहरूको साथमा छु ।’’

अदालतभित्र अप्ठ्याराहरू, असहज परिस्थितिहरू रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सल्टाउने दायित्व पूरा गर्ने बताउनुभयो । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरूले सञ्चारकर्मीहरूबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारका लागि यो अदालत प्रतिबद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभूतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने भूमिकाहरू छ । यसमा आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौँ । तथापि राज्यको चौथो अङ्गको रूपमा रहेका पत्रकारहरू र सञ्चारकर्मी मित्रहरूले पनि हाम्रा कुराहरू जनता समक्ष पुर्‍याइदिनुपर्ने हुन्छ । र तपाईँहरूको सहयोग, सद्भाव र सदा सहायताविना यो अदालत एक्लैले सबै कुरा गर्न सक्दैन ।’’

प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवर्द्धनका लागि सञ्चारकर्मीहरूसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गर्नुभयो ।