• १२ पुस २०८१, शुक्रबार

किसानलाई धान भित्र्याउन चटारो

blog

धान खेती भित्र्याउन व्यस्त किसानहरु । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक ३ गते । रुकुमपश्चिमका किसानलाई यतिबेला धान खेती ढल्याउने चटारो छ । दसैँ, तिहार लगायतका पर्वहरू सुरु भएसँगै यहाँका किसानलाई पाकेको धान काट्ने, ढल्याउने कामको चाप सुरु भएको छ । 

मुसीकोट नगरपालिका–१३ का किसान मैमा खत्रीले सदैझैँ यस वर्ष पनि दसैँ तिहारकै बेला धान पाकेकाले धान ढल्याउने काम चलिरहेको बताउनुभयो । धान काट्ने, सुकाउने, धान चुट्ने, दाई हाल्ने काममा व्यस्त भएको उहाँले जानकारी दिनुभयो । 

असारमा रोपेको धान पाकेको र भित्र्याउने उपर्युक्त समयमा चाड समेत आएकाले खेतीपातीकै काम प्राथमिकतामा परेको खत्रीले जनाउनुभयो । दसैँ तिहार मनाउन घर आएका परदेशीहरू, विद्यार्थी तथा परिवारका अन्य सदस्यहरू यतिबेला खेतबारीमै जमघट हुने गरेका छन् । 

पानी पर्न रोकिएकाले पनि धान ढल्याउने राम्रो मौका जुरेको किसानहरूको भनाइ छ । चौरजहारी नगरपालिका –५ का किसान गणेश शर्माले बिहानदेखि बेलुकासम्म धानबारीमै व्यस्त हुनुपरेको बताउनुभयो । खेतमा पाकेको धान काटेर सुकाउनेदेखि धान र पराल अलग गराउने कामको चापले दिनभर खेतमै बित्ने गरेको उहाँले बताउनुभयो । 

दसैँको केही दिन अघिबाट वर्षायाम रोकिएकाले किसानलाई असाध्यै सहज भएको उहाँको भनाइ छ । जिल्लाको चौरजहारी नगरपालिकाको खोलागाउँ, जहारीखोला फाँट, मुसीकोट नगरपालिकाको माछिमी, छिवाङजीउला, आठबिसकोट नगरपालिकाको राडिचौर, त्रिवेणी गाउँपालिकाको पेदीखेत, पेउघा जीउला, सानीभेरी गाउँपालिकाको पेदीबजार, चाइनाबगर, बाँफिकोट गाउँपालिकाको छिनखेत लगायतका क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ । 

यी सबै क्षेत्रमा धान पाकेकाले काट्ने, ढल्याउने र धान भित्र्याउने काममा यहाँका किसान व्यस्त रहेका छन् । अधिकांश स्थानमा किसानहरू गोरुको प्रयोग गरेर दाइँ हाल्ने, किसानले नै धान चुट्ने लगायतका तरिकाले धान भित्र्याउने गरिरहेका छन् भने कतिपय स्थानमा थ्रेसर मेसिनमार्फत धान भित्र्याउने चलन बढिरहेको छ ।

रुकुमपश्चिममा कुल तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । यसबाट करिब १२ हजार ९९ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क कार्यालयसँग रहेको छ । जिल्लामा खुमल ४ र ८, राधा ४, सावित्री, बिन्देश्वरी, मन्सुली लगायतका जातको धान खेती हुने गर्दछ ।