• ३ कात्तिक २०८१, शनिबार

झापा ११ कञ्चनजङ्घालाई हराउँदै क्वाटर फाइनल प्रवेश

blog

हरि कोइराला

उर्लाबारी, कात्तिक ३ गते । उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब  अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौँ मिनेटमा कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रदानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाउनु भयो । झापाका गोल रक्षक सन्दीप लिम्बू गोल पोष्ट छोडेर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै पाहुना टोलीले झापा विरुद्ध सुरुवाती गोल गरेको हो ।

 ३५ ओं मिनेटमा झापा खेलमा फक्र्यो । आशिष् चापागाईँले पोस्टमा प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा फर्किएको थियो । उक्त बललाई झापाका नीरज कार्कीले कुनै गल्ती नगरी जाली चुमाउनु भयो । 

मध्यान्तर अघिसम्म १–१ गोलको बराबरीमा रहेको खेलमा झापाले ५३ ओं मिनेटमा अर्को १ गोल थप्यो ।झापाका अभिषेक गुरुङले आशिष् चापागाईँको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गर्नुभयो ।  कञ्चनजङ्घाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल ठोक्यो । ५९ ओं मिनेटमा झापाका नीरज कार्कीको पासमा उत्सव राईले गोल गर्नुभयो । ७० ओं मिनेटमा उत्सव राईले अर्को १ गोल गर्दै झापालाई जित नजिक पुर्याउँनु भयो । सिलिगुडीका गोल रक्षक प्रनुव लिम्बु बल नियन्त्रण गर्न अघि बढेको समयमा उत्सवले सुन्दर गोल गर्नु भएको थियो । 

 सुरुवाती गोल खाएर निराश बनेको झापाको गोल गर्ने क्रम रोकिएन ।खेलको ७६ ओं मिनेट भविन बोहराको पासमा निकेश श्रेष्ठले टिमका लागि पाँचौं र व्यक्तिगत पहिलो गोल गर्नुभयो । ५–१ गोलले स्तब्ध भएको पाहुना टोली अन्ततः पहिलो चरण बाटै खेलबाट बाहिरिएको छ । 

उद्घाटन खेलमा  झापाको तर्फबाट २ गोल गर्ने उत्सव राई   म्यान अफ द म्याच घोषित हुनुभयो ।  उत्सवलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले नगद ५ हजार सहित ट्रफि प्रदान गर्नुभयो ।  शनिवार आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी ११ र चित्लाङ फुटबल क्लब काठमाडौँ बिच खेल हुनेछ ।