• २ कात्तिक २०८१, शुक्रबार

इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

blog

धरान (सुनसरी) कात्तिक २  गते ।  इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्याैली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् । 

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आउनुभएको छ । भोजपुर होम्ताङका उहाँको व्यवसाय नै नाङ्लोको व्यापार हो ।  नाङ्लो बेचेर उहाँले घरव्यवहार चलाउँदै आउनुभएको छ । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य  छ भने सबैको आम्दानीको स्रोत नै नाङ्लोे बुन्ने र बेच्ने भएको छ । उहाँले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गर्नुभएको छ भने केही आफैँले पनि रोप्नुभएको छ । उहाँले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताउनुभयो । 

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु. २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उहाँले बताउनुभयो । एउटा नाङ्लो  रु. एक सय ५० देखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।

 नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताउनुभयो । उहाँले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताउनुभयो । धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् ।  

नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउनुहुन्छ । पुर्ख्याैली पेसालाई निरन्तरता दिँदै आउनुभएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो  बेच्ने गर्नुभएको छ । 

 नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस रु. दुई सयसम्म पर्ने गरेको जानकारी दिँदै उहाँले एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताउनुभयो । “आफ्ना उत्पादन बोकेर गाउँ डुल्नुपर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,” नाङ्लो बुनेर घरखर्च चलाउँदै आउनुभएका विक्रमले घरका  सबैले नाङ्लो बुन्ने गरेका जानकारी दिँदै भन्नुभयो ।  रासस