• २ कात्तिक २०८१, शुक्रबार

टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात

blog

अमेरिकाको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक २ गते । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो । 

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४७ रनमा समेटिएको थियो । 

अमेरिकाका लागि शयन जहानगिरले सर्वाधिक अविजित ६० रन बनाउनुभयो । यस्तै आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाउनुभयो ।


बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । रिजन ढकाल, करण केसी र गुलशन झाले एक एक विकेट लिनुभयो । दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच बन्नुभयो । 


यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अविजित ४९ रन बनाउनुभयो ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ तथा गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउनुभयो ।


बलिङमा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले दुई दुई विकेट लिनुभयो । नोस्तुश केन्जिके र अलि खानले एक एक विकेट झार्नुभयो । 

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन खेलको टी–२० क्रिकेट खेलेको हो । टी–२० सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ ।


टी–२० सिरिजपछि आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड छ ।