• १ कात्तिक २०८१, बिहिबार

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाः महोत्तरीबाट १०१ पाहुर जानकी मन्दिर ल्याइयो

blog

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाबारे जानकारी दिनुहुँदै ।

जनकपुरधाम, कात्तिक १ गते । मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट एक सय एक पाहुर जानकी मन्दिरमा ल्याइएको छ ।

महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा छ । पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, भगवान राम र माता जानकीको कपडा ल्याइएको छ ।

रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा एक सय ४१ वर्षदेखि चल्दै आइरहेको छ । यो परम्परालाई टुट्न नदिने प्रतिबद्धता स्थानीय नवीन ठाकुरले व्यक्त गर्नुभयो । 

कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

यसअघि गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो । मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकै दिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व बिहीबार मनाइएको हो ।