• ३० असोज २०८१, बुधबार

पाथीभरा क्याम्पसको नयाँ भवन निर्माण

blog

नवनिर्मित पाथीभरा बहुमुखी क्याम्पसको उद्घाटन गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण गरिएको छ । ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) नामक संस्थाको सहयोगमा क्याम्पसको नयाँ पक्की शैक्षिक भवन निर्माण गरिएको हो । 

पाथीभरा बहुमुखी क्याम्पसको भवन सम्पन्न भएसँगै मङ्गलबार उद्घाटन गरिएको छ । एचपिएफ संस्थामार्फत मुख्य आर्थिक सहयोगदाता डेनमार्कका नागरिक म्याक सेइजवेक र उहाँको परिवारको उपस्थितिमा नव–निर्मित भवनको उद्घाटन गरिएको हो । कुल १० कोठा भएको दुईतले भवन निर्माणका लागि करिब एक करोड ३७ लाख रुपियाँ लगानी भएको छ ।

क्याम्पसका प्रमुख सजन पौडेलका अनुसार भवन निर्माणमा भएको कुल लगानीमध्ये फुङ्लिङ नगरपालिकाको १५ लाख रुपियाँ र क्याम्पसको केही रकम रहेको छ । बाँकी रकम एचपिएफमार्फत सेइजवेक परिवारको रहेको क्याम्पस प्रमुख पौडेलले जानकारी दिनुभयो । पक्की भवन निर्माण भएसँगै क्याम्पसको पठनपाठन सञ्चालनमा थप सहज हुने भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङको भनाइ छ ।

करिब ८०० बढी विद्यार्थीले अध्ययन गर्ने त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्म पढाइ हुने जिल्लाको एकमात्र बहुमुखी क्याम्पस हो । पाथीभरा बहुमुखी क्याम्पसबाहेक सिरिजङ्घा गाउँपालिका–१ सिनाममा स्नातक तहसम्म पढाइ हुने सिनाम बहुमुखी क्याम्पस रहेको छ । 

यता पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिएर मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुको नारायणी माध्यमिक विद्यालयलाई बहुमुखी क्याम्पसमा स्तरवृद्धि गरी सञ्चालनको गृहकार्य भइरहेको बताइएको छ । क्याम्पसको नयाँ भवन उद्घाटनमा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङ्बीर हाङ्गाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो ।