• २० वैशाख २०८१, बिहिबार

झापाका पन्ध्रै पालिकामा मतगणना सुरु

blog

मोरङ, वैशाख ३१ गते । जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएको छ । शिवतासाक्षी, अर्जुनधारा र मेचीनगरपालिकाले मध्याह्नपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार कतिपय स्थानमा सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना ढिलो भएको हो । मतगणना सुरु भएका स्थानमध्ये दमक, शिवसताक्षी, बिर्तामोड नगरपालिकामा नेकपा एमाले अगाडि  छ, भने बुद्धशान्ति, गौरीगञ्ज, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा नेपाली काँग्रेस अगाडि छ ।

यसैगरी, हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता  छ । जिल्लामा छ लाख ४६ हजार २३४ मतदातामध्ये चार लाख ५५ हजार ४७६ मतदाताले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ थियो । उहाँले जिल्लामा ७० दशमलव ४८ मत खसेको जानकारी दिनुभयो ।

यसैगरी, झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ हजार ८४० ले मतदान गरेका थिए ।

१५ वटा स्थानीय तह रहेको झापामा हाल छ लाख ४६ हजार २६४ मतदाता  छन् । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको झापामा पुरुष मतदाताको सङ्ख्या तीन लाख २१ हजार ५२०  छ भने महिला मतदाताको सङ्ख्या तीन लाख २४ हजार ७०५ जना छ । त्यस्तै अन्यमा नौ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो । 

झापामा सबैभन्दा धेरै मत झापा गाउँपालिकामा ७४.६६ प्रतिशत खसेको छ । यो गाउँपालिकामा २३ हजार ९४४ मतदाता रहेका थिए । मतदातामध्ये पुरुषको सङ्ख्या आठ हजार २० रहेको थियो भने महिलाको सङ्ख्या आठ हजार ५९७  थियो । यहाँ कूल मतदातामध्ये १७ हजार ८७७ ले यो गाउँपालिकामा मतदान गरेका छन् । यो कुल मतदाताले खसालेको मतको ७४.६६ प्रतिशत रहेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक मतदान अधिकृत तथा सूचना अधिकारी गणेश पाण्डेले बताउनुभयो ।

त्यस्तै, झापापछि बाह्रदशी गाउँपालिकामा धेरै मत खसेको छ । यो पालिकामा ७४.४१ प्रतिशत मत खसेको हो । यहाँ मतदाताको सङ्ख्या २५ हजार ८२६ रहेको छ । कुल मतदातामध्ये यो गाउँपालिकामा १९ हजार २१७ ले मतदान गरेका छन् ।

त्यस्तै, सबैभन्दा कम मत भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो नगरमा ५१ हजार २६० मतदाता रहेकोमा ३४ हजार १५ ले मात्रै मतदान गरेका छन् । यो कुल मतदानको ६६.३६ प्रतिशत मात्र हो ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा यो वर्ष २८६ वटा मतदानस्थलका ७५५ मतदान केन्द्रबाट मतदान भएको थियो । अघिल्लो निर्वाचनमा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र कायम थिए ।

झापामा ६८५ जना जनप्रतिनिधि चयनका लागि दुई हजार ७८६ ले उम्मेदवारी दिएका थिए । त्यसमध्ये आठ÷आठ जना नगर प्रमुख र उपप्रमुख तथा सात÷सात जना अध्यक्ष र उपाध्यक्ष पदका लागि मात्रै १६९ जनाको उम्मेदवारी थियो ।

झापामा प्रमुख र अध्यक्ष १५ जना, उपप्रमुख र उपाध्यक्ष १५ गरी ३० जना, वडाध्यक्ष १३१, महिला सदस्य १३१ र दलित महिला सदस्य १३१ गरी ३९३ जना र खुला सदस्य २६२ गरी जम्मा  ६८५ जना जनप्रतिनिधि चयन हुनेछन् ।