• २८ असोज २०८१, सोमबार

गाउँमा चर्खे र लिङ्गे पिङकाे रौनक

blog

लिङ्गे पिङमा रमाउँदै बालबालिका । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, असोज २८ गते । लोप हुँदै गएको चर्खे र लिङ्गे पिङ जिल्लाका विभिन्न स्थानमा राखिएको छ । जिल्लाको विभिन्न स्थानका स्थानीय बासिन्दाले चर्खे र लिङ्गे पिङ राख्नमा सक्रियता बढाएका छन् ।

जिल्लाको तानसेन, बगनासकाली, रिव्दीकोट, माथागढी, ताहुँ, रामपुर, निस्दी, हुँगी लगायतका स्थानमा लिङ्गे र चर्खे पिङ स्थापना गर्ने क्रम बढेको हो । स्थानीय बासिन्दाको सक्रियतामा हराउँदै गएको पिङ स्थापना गरी जर्गेनामा सक्रियता बढेको छ ।

जिल्लाको रम्भाको ताहुँ, झोकेदी, पूर्वखोला, माथागढीको झडेवामा चर्खे पिङ स्थापना गरिएको छ । हराउँदै गएको चर्खे पिङ् स्थापनामा स्थानीय युवा, महिलाको सक्रियता रहेको माथागढी–४, केरौलीका स्थानीय बासिन्दा हरिबहादुर चौहानले बताउनुभयो । यस्तै हुमिन, जल्पालगायतका स्थानमा पनि चर्खे पिङ राखिएको स्थानीय बासिन्दा बताउँछन् । परम्परादेखि नै झडेवाको केरौलीमा चर्खे पिङ राख्ने गरिएकोमा यो वर्षको दसैँमा चर्खे पिङ जोडिएको चौहानले बताउनुभयो । सहरबाट गाउँ आउने, गाउँमा बस्ने मानिस, घरमा जेष्ठ नागरिकसँग आशिर्वाद लिन आएका युवायुवतीसमेत चर्खे पिङ्मा खेल्ने गरेका छन् ।   

यस्तै तानसेनको टुंडिखेल, बाँसटारी, बतासे, रिव्दीकोटको भैरवस्थान, बतासे, माथागढीको सराई, तिनाउको मस्याम क्षेत्रमा लिङ्गे पिङ राखिएको छ । केही वर्षअघिसम्म पिङ राख्ने कार्य सुस्त बनेकोमा पछिल्लो वर्षहरूमा यसको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ । परम्परा जोगाउनुपर्छ भन्ने मान्यता बढ्दै गएपछि पिङकाे सङ्ख्या बढेको पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । उहाँले जेसिजले यो वर्ष तानसेनको दुई स्थानमा लिङ्गे पिङ स्थापना गरेको बताउनुभयो । 

चर्खे र लिङ्गे पिङमा पाका पुस्तादेखि बालबालिकासमेत झुम्मिने गरेका छन् । पिङ खेल्दा रमाइलो हुने र वर्षको एक पटक भुँइ छाड्नुपर्छ भन्ने मान्यताले पिङ्मा सबै उमेर समूहका मानिस झुम्मिने गरेका छन् । दशैँको बेलामा चोक, चौका, बरपिपलका फेँद, पाटीपौवा नजिक, सार्वजनिक स्थलमा चर्खे र लिङ्गे पिङ स्थापना गर्ने परम्परा रहेको छ । 

स्थानमा विभिन्न ठूला रुखका मुनि बाँबियोको डोरी बाटेर समेत पिङ राख्ने प्रचलन रहेको छ ।