• १० मंसिर २०८१, सोमबार

प्युठानमा सरायँ नाचको रौनक

blog

प्युठानको बिजुलिकोटमा सरायँ प्रदर्शन गरिदै । तस्विर सौजन्यः अनुपराज पाण्डे

सलिम मियाँ 

बिजुवार, असोज २८ गते । प्युठानका विभिन्न कोटघर र देवीका मन्दिरहरुमा हतियार जुधाएर नाच्ने परम्परागत सरायँ नाचको रौनक सुरु भएको छ । दसैँ र तिहारसँगै प्युठानमा नाचिने सरायँ नाचले सबैतिर रौनकता बढाएको स्थानीयको भनाइ छ । 

दसैँको नवमी र दशमीको दिनमा यहाँका ऐतिहासिक कोटघर, दुर्गा र कालिका मन्दिरहरूमा राखिएका ऐतिहासिक हतियारहरु प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नाच्दै मन्दिर परिक्रमा गर्ने चलन रहेको छ । कोटहरुमा परेवा उडाउने र  पशुबलि पनि दिने गरिन्छ । दसैँको अस्टमी र नवमीका दिनमा पशुबलि दिने र दशमीका दिनमा टीका लगाइसकेपछि एकादशीदेखि पूर्णिमासम्म कोटघर, दुर्गाभगवतीका शक्तिपीठहरु सरायँको रमझम र पञ्चेबाजाको धुनले गुल्जार बन्छ । हातमा तरवार, खुँडा बोकेकाहरू एकअर्काको ढाड जोडाउँदै नाच्छन्। । ‘वाखै’ भन्दा छुट्टिने र ‘ह’ भन्दा ढाड जोड्ने गरिन्छ ।  यो क्रम तिहारपछिको पूर्णीमासम्म चल्छ ।  

१३औँ शताब्दिमा प्युठानको भित्रीकोट राज्यका शासक  जाँट वशीय राजाको राक्षसी स्वभावका विरुद्ध एकताबद्ध भएर जनताले तरवार उठाएको घटनासँग यो सरायँ नाच जोडिएको छ । मानवरूपी राक्षसले वर्ष वर्षमा एउटा मान्छेको मासु खाने गरेको र एक जनाले आफ्ना बाबु नपठाएर आफैँ पुण्यखोला डल्ले भन्ने स्थानमा गई तरवारले राक्षसलाई नै मारेपछि यसैको खुसियालीमा चार गाउँबाट स्थानीय तरवार लिई वाख्यैरवाख्यै भन्दै नाच्दै खुसियाली मनाएको किम्बदन्ती रहेको छ । 

यसैबेलादेखि निरन्तर सरायँ नाच्ने गरिएको स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले बताउनुभयो । जिल्लामा डल्लेबाट आरम्भ भएको सरायँ नाच्ने मेला विभिन्न स्थानमा पनि लाग्ने गर्दछ । उहाँले भन्नुभयो, ‘यो एक विजयोत्सवजस्तै हो, गाउँका कोट, डाँडाहरूमा  बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै’ सरायँ नाच्ने गरिन्छ’परापूर्वकालदेखि यो अहिलेसम्म चलिरहेको छ ।’