• १९ कात्तिक २०८१, सोमबार

फालेलुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण

blog

फालेलुङ गाउँपालिका-६ र ७ का पीडितलाई वितरण गर्न लगिएको राहत । तस्बिर : राधा लुइटेल/गोरखापत्र

राधा लुइटेल 

फिदिम, असोज २७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ । असोज १२ गतेको बाढीपहिरोका कारण विस्थापित भएका घर परिवारलाई राहत वितरण गर्न थालिएको हो ।

फालेलुङ गाउँपालिका, जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, हेल्भेटास नेपाल आदी संस्थाले एकद्वार प्रणालीमा आबद्ध भई राहत वितरण गरेका हुन् । 

गाउँपालिकाको वडा स्तरीय सर्वेक्षण र प्रहरीले तयार पारेको प्रतिवेदनको आधारमा राहत प्रदान गरिएको रेडक्रस सोसाइटी पाँचथरका कार्यकारी अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिनुभयो ।

फालेलुङ गाउँपालिका केन्द्र थकेपुङमा पायक पर्ने प्रभावितहरूलाई राहत प्रदान गर्दै शुक्रबार सुरु गरेर वडा वडामा पुगी वडाकै जनप्रतिनिधिको रोहवरमा पीडितलाई राहत वितरण गर्ने क्रम जारी रहेको तिम्सिनाको भनाइ छ ।

वडा नम्बर २,३ र ४ का पीडितलाई पालिका केन्द्र थकेपुङ र ५ र ६ का प्रभावितहरूलाई ६ नम्बर वडा कार्यालयमा झिकाएर राहत प्रदान गरिएको थियो । 

यसअघि हाम्रो सहारा पाँचथरले पनि राहत प्रदान गरेको थियो । भाँडाकुँडा र खाद्यान्न सहितको सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो । हालसम्म फालेलुङका ५८ घर परिवारलाई राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा प्रकाश अधिकारीले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिले प्रभावित परिवार सङ्ख्याको आधारमा रकम प्रदान गरिरहेको छ । 

अधिकारीका अनुसार ५ जनाभन्दा धेरै सदस्य भएको परिवारलाई २० हजार र ५ जनाभन्दा कम सदस्य भएको परिवारलाई १५ हजारको दरले राहत रकम उपलब्ध गराएको छ ।

त्यस्तै गाउँपालिकाले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने र खाद्यान्न सहित औषधीहरू उपलब्ध गराएको पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिनुभयो । रेडक्रसले नन फुड आइटम वितरण गरिरहेको छ भने हेल्भेटास नेपालले खाद्यान्न सहितका आवश्यक सामग्रीहरू पालिकालाई उपलब्ध गराएको छ । 

फालेलुङमा तीन सय बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई राहत प्रदान गर्ने र पुनर्स्थापना गर्ने काम क्रमशः भइरहेको थाम्सुहाङले जानकारी दिनुभएको छ ।