• २६ असोज २०८१, शनिबार

५५ फिट अग्लो रावणको आज बध गरिंदै

blog

बध गर्नका लागि स्थानीय रामलिला मैदानमा बनाइएको ५५ फिटको रावण । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, असोज २६ गते । नेपालगन्जको रामलिला मैदानमा शनिबार दिउँसो भव्य कार्यक्रमबिच ५५ फिटको रावणको पुत्ला दहन गरिदैँछ । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।  

उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव शनिबार दिउँसो शुरु हुनेछ । साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ । 

भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट आएका २५ जना कलाकारको समूहले नेपालगन्जमा विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सम्पन्न गरिने रामलिला सञ्चालक समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो ।

उहाँले रामलिला मैदानमा शनिबार लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सयौँको संख्यामा सर्वसाधारणहरु आउने गरेको बताउनुभयो । 

दशहरा मेला लाग्नेस्थल वरपर विभिन्न स्टलहरु समेत राखिएका छन् । महोत्सवका सडकहरु झिलीमिली पारिएको छ, भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको छ । 

१५० वर्ष अघिदेखि आयोजना हुँदैआएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रदर्शन गरिसकिएको रामलिला सञ्चालक समितिले जनाएको छ ।