• २६ असोज २०८१, शनिबार

ताकमकोतमा ठेलो फाल्ने प्रतियोगिता

blog

ठेलो प्रतियोगितामा बिजयी अशोक खत्री । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २६ गते । म्याग्दी धवलागिरि गाउँपालिका ७ स्थित प्रशिद्ध धार्मिकस्थल ताकमकोतमा दसैंमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमबासीले आठसय वर्षदेखि निरन्तरता दिँदैआएका छन् ।  

बडादसैंको महानवमी पर्वका अवसरमा हुँदैआएको ठेलो फाल्ने प्रतियोगितालाई यहाँका स्थानीयहरुले अझै जीवित राखेका छन् । हरेक वर्ष आयोजना हुने प्रतियोगितामा बिजेता घोषणा गरिन्छ । यस वर्ष पनि आठौं पटकका विजेता वडा नम्बर ७ ताकमका वडाध्यक्ष समेत रहनुभएका अशोक खत्री नवौं पटक बिजयी हुनुभयो । 

ताकमकोतमा शुक्रबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि ३५ वर्षीय खत्रीले जित्नुभयो । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी ३२ जनामध्ये सबैभन्दा टाढा फालेर खत्रीलाई माल घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुभयो । उहाँका अनुसार यसअघि नवौं पटक कसैले पनि जितेका छैनन् । 

प्रतियोगितामा ताकम र आसपास गाउँका ३२ जना युवाहरुले सहभागिता जनाएका थिए । ताकमकोत पूजा व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो, ‘‘पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ । ठेलो प्रतियोगिताको बिजेतालाई बाजागाजासहित अविर र फेटा गुथाएर सम्मान गर्ने प्रचलन छ ।’’

बिजेता खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धबलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर र पूर्व उपाध्यक्ष रेशम छन्त्याल लगायतले फेता लगाएर सम्मान गर्नुभएको थियो । 

स्थानीयवासीले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित ताकमकोत परिक्रमा गराएका थिए । माललाई फेताले सम्मान गर्नुका साथै नगद उपहार दिने प्रचलन छ । 

१२४६ देखि १५४५ सालसम्म बगाले थापाको र १५४६ देखि १८८२ सालसम्म मल्ल राजाले कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरीलगायतका हातहतियार छन् । 

कोतघर र मन्दिर पुनःनिर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ । समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।