• १५ चैत २०८०, बिहिबार

इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा गोली चल्यो

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), बैशाख ३१ गते । इलामको देउमाई नगरपालिकामा झडप भएको छ । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भीडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । झडपमा केही म्यादी प्रहरी घाइते भएका छन् । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । 

नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले नाराबाजीसहित विरोध गर्न थालेपछि मतगणना रोकिएको थियो । उनीहरुले निर्वाचन अधिकृत र प्रहरी बिरुद्ध नाराबाजी गरिरहेपछि मतगणनास्थल अशान्त बनेको थियो । एक पक्षिय रुपमा मतगणना भएका गठबन्धन दलले आरोप लगाएका छन । इलामका प्रहरी प्मुख एसपी महेन्द्रकुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिनुभयो । मतगणना स्थल अगाडि धाँदली भएको भन्दै एक व्यक्ति अन्सनमा बस्नुभएको छ । निर्वाचन अधिकृत हरीबहादुर दाहालले भिड शान्त भएपछि दलहरुसँग छलफल गरिने जानकारी दिनुभयो । 

देउमाईमा मेयरका उम्मेद्धवार एमालेका सूर्य पोखरेल र गठबन्धनबाट काँग्रेसका होम दुलालबीच प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।