• २६ असोज २०८१, शनिबार

लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसङ्घीय प्रस्तावको आह्वान

blog

बेरुत, असोज २५ गते। लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबिच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ। 

टेलिभिजनमा सम्बोधन गर्दै उहाँले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताउनुभयो। 

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उहाँले बताउनुभयो। 

उहाँका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ। 

“लेबनान दक्षिणमा सेनाको तैनाथी र सीमामा यसको उपस्थिति बलियो बनाउन प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “हिजबुल्लाह यस विषयमा सहमत छ।”

एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो। उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो। 

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो। 

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान (युनिफिल) माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गर्नुभयो। लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए। 

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। (रासस–एएफपी)