• १२ पुस २०८१, शुक्रबार

यसपालिको दसैँ

blog

दसैँ नजिक आउँदै गर्दा मन भारी भयो । बालापनको रमाइलो, घरभरि मान्छेको भिड, आमाबुवाको हातबाट टीका थाप्ने हर्ष अनि गाउँघरमा पिङ खेल्दै रमाउँदाको त्यो आनन्द कहाँ हो कहाँ थियो तर यस वर्ष दसैँको रङमा गहिरो कालो छाया परेको छ । दसैँ हामीमध्ये कैयौँका लागि शोक र पीडाको प्रतीक बनेको छ । काठमाडौँ उपत्यकालगायतका देशका विभिन्न ठाउँमा भीषण वर्षाले बाढीपहिरो र विनाशको डरलाग्दो दृश्य छोडेर गयो, जसले यात्रामा रहेका, घरमा बसेका २५० जना जतिको ज्यान लियो । अझै कति हराइरहेका छन् । सयौँ घाइते भएका छन् । उनीहरू सबैको सपना बगायो, चुँडियो । कति आमाका आँखामा आँसु बगिरहेका छन् । हराएका आफन्तको खोजी गर्न नदीका किनारामा बसेर कुरिरहेका होलान् । 

काभ्रेको रोसीखोला, धादिङको झ्याप्लेखोलाको पहिरो, काठमाडौँको बल्खु, बागमती, मनोहरा, नक्खुखोलाका दृश्यले भावविह्वल नहुने को नै थियो र ! धादिङको झ्याप्लेखोलाको पहिरोले सडकमा अकल्पनीय त्रास छोडेर गएको झझल्को अझै कतिको मानसपटलमा ताजै होला । यहाँ पहिरोसँगै सवारीसाधन बगे । सवारीसाधनसँगै यात्रु पनि बगे । कतिका प्रियजन एकै क्षणमा चुँडिए । सन्तान गुमाएका आमाबाबालाई यो दसैँ दशा भयो । त्यसैले आमा, यसपालि दसैँमा म घर फर्कन सकिनँ । यसपालि टीका थाप्न आउँदिनँ किनकि यो वर्षको दसैँमा मेरा खुट्टा लड्खडाए अनि मन भारी भयो ।  

दसैँको टीका र जमरा थापेर हर्ष मनाउने कसको मन नहुँदो हो तर कैयौँ परिवारको यो दसैँ आँसु र शोकको प्रतीक बन्यो । आफन्त गुमाउनेको पीडा गहिरो छ । कति घर भत्किए, कति खेतबारी बगे । यसले कतिलाई घरबारविहीन बनाइदियो । अनि यस्तो बेला हामी कसरी रमाउन सक्छौँ ? जब देश नै आँसुमा डुबेको बेला तर दुःखको क्षणमा मन झन् चर्किंदो रहेछ । बाढीपहिरोको खबरले देशभरि त्रास फैलियो । यस्तो बेला सरकार सहयोगका लागि देखिनु पर्छ । कतिपय व्यक्ति खाना, नाना र छानाविहीन बनेका छन् । राहत पुग्न सकेको छैन । बाँच्नका लागि सङ्घर्ष गरिरहेका ती पीडित जनतालाई सहयोगका हात सबैले बढाउनु पर्छ ।

बाढीपहिरोको यो पीडाले दसैँ नै खल्लो भएको छ । विपत्का सुरुका दिनमा जिम्मेवार उद्धारको योजना राम्रो बनेको पनि देखिएन । राहत पनि समयमा पुगेको छैन । यसरी त पीडित झन् पीडामा पो पर्छन् । दसैँ भित्रिने बेलाको यस्तो अवस्थाले निकै दुःख लाग्ने रहेछ । कतिपय पीडितले कहाँ बस्ने, के खाने भनेर कुनै टुङ्गो लगाउन सकेका छैनन् । 

विगतका अनेकौँ विपत्ति सम्झँदा मन झन् भारी हुन्छ । २०७२ सालको प्रलयकारी भूकम्प अनि कोरोनाको महामारीले पु¥याएको क्षति । कोरोना महामारीका कारण लामो समय बन्दाबन्दी भयो । धेरै मानिस बेरोजगार भए । उद्योग, व्यवसाय, र स्कुल बन्द हुँदा घरपरिवार पाल्न कतिलाई गाह्रो प¥यो । सहरबाट गाउँ फर्किएका धेरैले रोजगारी गुमाए । अनि गाउँका कतिपय स्थानमा राहत सामग्री पनि समयमा पुग्न सकेन । लगत्तै दैनिक दुई÷तीन हजार युवा काम खोज्दै बिदेसिए । ती दिन सम्झँदा अहिलेको दसैँ पनि उस्तै लाग्छ– अनेकौँ चुनौतीबिच बित्ने । यी सबै विपत्तिले दसैँजस्ता चाडपर्वलाई पनि पीडाको प्रतीक बनाइदिएर गए । 

यस्ता विपत्तीको सामना गर्न सबभन्दा पहिले राजनीतिक स्थिरता हुनु पर्छ । राजनीतिक स्थिरता भयो भने मात्र सरकारको नीति पनि स्थिर हुन्छ । काम गर्न  पनि सजिलो हुन्छ । नत्र सरकार फेरिएपिच्छे नीति परिवर्तन हुँदा काम गर्न गाह्रो हुन्छ । भ्रष्टाचार र अनियमितता बढ्नै मौलाउने अवसर मिल्छ । मानवीय सहायता गर्ने संयन्त्र परिचालित हुन सक्दैनन् । बर्सेनि हुने विपत्बाट सिकेर यसको सामना गर्न सक्ने संयन्त्र बनाउनुको विकल्प हामीसँग छैन तर प्रभावकारी उद्धार, राहात र पुनस्र्थापनाका लागि हामीले संयन्त्र बनाउन सकेका छैनौँ । 

त्यसैले यसै सालको तिजको गीत ‘आइनँ आमा हो यो तिजैमा’ भने झैँ ‘आइनँ आमा हो यो दसैँमा’ भन्नुपर्ने अवस्था आइलागेको छ । यो गीतको हरफ पीडा र दुःखमा डुबेका हजारौँ आमा र छोराछोरीको व्यथा हो । ती आमा जसले आफ्ना छोराछोरी र ती छोराछोरी जसले आफ्नी आमा बाढीपहिरोमा गुमाए, उनीहरूको दुःख भनिसाध्य छैन, लेखिसाध्य पनि छैन । यो वर्ष दसैँले सधैँजस्तो खुसी र आशा ल्याएन । बरु विपत्को कालो छायाले सबैको मन भारी बनाइदियो । यी सबै पीडालाई सम्झिँदै यसपालिको दसैँ जाने भयो । हामीले हाम्रो गाउँ र देशमा भएका पीडितलाई सम्झिनु पर्छ । सहयोगका लागि हात अगाडि बढाउनु पर्छ । बाँच्न सङ्घर्ष गरिरहेका परिवारको घाउमा मलम लगाउनु पर्छ । त्यसैले आमा यसपालिको दसैँमा आउन सकिनँ ।