• २३ असोज २०८१, बुधबार

डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

blog

हाटबजार उद्घाटन गर्दै अतिथिहरु । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज २३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । वडा ९ को कठौतियामा भैरहवा एग्रिकल्चरल सुपरमार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रालिमार्फत भैरहवा कृषि बजार सञ्चालनमा आएको हो । 

२०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उद्घाटन गरिएको सञ्चालक रतन गुप्ताले बताउनुभयो । बजारको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले कठौतियामा कृषि बजार सञ्चालनमा ल्याउनु राम्रो काम भएको बताउनुभयो । 

उहाँले विषादीमुक्त तथा अर्गानिक तरकारीको बिक्री वितरणमा जोड दिन आग्रह गर्नुभयो । नगरप्रमुख खाँले नाफाका लागि कसैको पनि स्वास्थ्यसँग खेलबाड गर्न नहुने बताउनुभयो । उहाँले नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस्तै, सिद्धार्थनगर नगरपालिका –९ का वडाध्यक्ष शेषकान्त भण्डारीले भैरहवा कृषि बजारलाई नमुना बजारको रूपमा अघि बढाउन आग्रह गर्नुभयो । 

भैरहवा कृषि बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रो कहारले विषादीमुक्त तरकारी विक्री गर्ने प्रयासमै रहेको बताउनुभयो । हप्ताको दुई दिन बुधबार र शनिबार हाटबजार सञ्चालनको तयारी पनि गरिएको कहारले जानकारी दिनुभयो । 

स्थानीय चन्द्रो कहार, दीपक श्रेष्ठ, रतन गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाइको संयुक्त लगानीमा भैरहवा कृषि बजार सञ्चालनमा आएको सिद्धार्थनगर–९ का वडा सदस्य वसन्त भट्टराईले जानकारी दिनुभयो । ५ कठ्ठा जग्गामा डेढ करोडको लगानीमा सञ्चालित बजारमा हाल २६ वटा स्टल छ ।