• १० मंसिर २०८१, सोमबार

वर्षाले क्षति पुगेका सडकको मर्मत

blog

रुकुमपूर्व समाचारदाता 

रुकुमपूर्व, असोज २२ गते । वर्षाले क्षति पुगेका सडकको मर्मत सुरु गरिएको छ । वर्षाले क्षति पुगेका रुकमपूर्व जिल्लाका ग्रामीण तथा प्रादेशिक एवं राष्ट्रिय आयोजनाका सडक मर्मत सुरु गरिएको हो । 

ग्रामीण सडक स्थानीय सरकारले मर्मत सुरु गरेका छन् भने प्रादेशिक र राष्ट्रिय सडक मर्मतका लागि सम्बन्धित आयोजना कार्यालय र ठेकेदारले मर्मत गर्ने भएका छन् । आउँदै गरेको दसैँतिहार मान्नका लागि विभिन्न ठाउँबाट गाउँ आउने र सरसामान ल्याउन सहज बनाउन वर्षाले क्षति पु¥याएका जिल्लास्थित सम्पूर्ण सडक मर्मत गर्न लागिएको हो । 

जिल्लास्थित मध्यपहाडी लोकमार्गबाहेक सहिदमार्गसहित प्रादेशिक र ग्रामीण सडक कच्ची छन् । कच्ची सडककै कारण हरेक वर्षको वर्षायाममा अधिकांश सहिदमार्ग खण्ड र ग्रामीण सडक पहिरोले अवरुद्ध हुने गरेको छ । 

वर्षायाम सकिएसँगै चाडपर्व आइरहेकाले अवरुद्ध सडकखण्डलाई नियमित गर्न सम्बन्धित कार्यालयलाई अपिल गरिएको जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । समयमै सडक नियमित भएमा आउजाउका साथै ढुवानीका काममा सहज हुने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अपिल गरे अनुसार जिल्लाका पुथा उत्तरगङ्गा, भुमे र सिस्ने गाउँपालिकाले सडक मर्मत कार्य सुरु गरिसकेको उहाँले बताउनुभयो । अवरुद्ध सडक दसैँअघि नै खुलाउने गरी सम्बन्धित कार्यालयले काम सुरु गरिसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । प्रादेशिक सडकखण्डको मर्मतका लागि जिल्लाको सडक पूर्वाधार विकास कार्यालय, सहिदमार्ग खण्ड र मध्यपहाडी लोकमार्ग खण्डमा सम्बन्धित आयोजना कार्यालय र सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीलाई अनुरोध गरिएको उहाँको भनाइ छ । 

पुथा उत्तरगङ्गा गाउँपालिकाले अवरुद्ध सडक सुचारुका लागि तीन वटा जेसिबी लगाएको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीमगरले बताउनुभयो । यस्तै सिस्ने गाउँपालिकाले पनि अवरुद्ध सडक मर्मत कार्य धमाधम गरिरहेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । यसै गरी भुमे गाउँपालिकामा पनि प्रत्येक वडाबाट अवरुद्ध सडक मर्मत भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले जानकारी दिनुभयो ।