• ६ वैशाख २०८१, बिहिबार

‘जुम्बा’मा बढ्दो आकर्षण

blog

काठमाडौँ, वैशाख ३१ गते । मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि नृत्य लोकप्रिय हुँदै गएको छ । यही नृत्यभित्र लोकप्रिय बन्दै छ ‘जुम्बा’ । अहिलेका युवापुस्तादेखि वृद्धवृद्धा जुम्बा नृत्यप्रति आकर्षित हुँदै गएका छन् । जुम्बा फिटनेसका लागि डान्स मुभमेन्टमार्फत गरिने थेरापी हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । 

जुम्बा मोटोपन घटाउन मात्र नभएर थाइराइड, युरिक एसिड आदि रोग नियन्त्रणका लागि पनि उपयोगी मानिन्छ । रमाइलो तरिकाले सङ्गीतको धुनमा कसरत गरिने भएकाले यसको आकर्षण बढ्दै गएको जुम्बाका प्रशिक्षकको भनाइ छ । जुम्बाले शारीरिक एवं मानसिक रूपमा शरीरलाई स्वस्थ राख्न सघाउ पु-याउँछ । जुम्बाप्रति पुरुषको तुलनामा महिलाको आकर्षण बढी छ । 

ग्लोबल कलेजमा ए लेभलमा अध्ययरत नम्रता लुइँटेल जुम्बा तौल घटाउने सबैभन्दा सजिलो उपाय भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सानै उमेरदेखि नाच्न रुचि थियो पढाइले गर्दा समय नै दिन पाइरहेको थिइनँ । तौल बढी भएपछि विभिन्न उपाय अपनाएँ तर भएन र साथीहरूले जुम्बा नृत्य गर भनेपछि सुरु गरेँ । नाच्दा–नाच्दै तौल घटेको थाहै भएन, रमाइलो पनि भयो तौल पनि घट्यो,” लुइँटेलले थप्नुभयो, “नृत्यले पूरै शरीरलाई व्यायाम पुग्ने भएकाले स्वास्थ्य, आत्मविश्वास बढेको छ ।” व्यायाम, अन्य थेरापीभन्दा जुम्बाको नृत्य अभ्यास उत्कृष्ट रहेको उहाँले बताउनुभयो । 

मोडल रस्मिला पुजारी पाँच महिनादेखि जुम्बा नृत्यमा रमाइरहनुभएको छ । एक दर्शन म्युजिक भिडियोमा काम गर्नुभएको उहाँले तौलका कारण जुम्बा नृत्य गरेको जानकारी दिनुभयो । पहिलो उद्देश्य तौल घटाउनु र अर्को उद्देश्य स्वस्थ रहन व्यायाम गर्नु । जुम्बा सुरु गरेको तीन महिनामै पाँच केजी तौल घटिसकेको पुजारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला ६७ केजी थिएँ, अहिले ६२ केजी भएकी छु ।” 

नाच्दा रमाइलो हुने र सिकिने भएकाले नाचेर तौल घटाउने, शरीर बनाउने व्यायाममा ग्राहकको आकर्षण रहेको जुम्बा प्रशिक्षक प्रह्लाद बुढाथोकी बताउनुहुन्छ । “मोेटोपन भएका स्कुले बालबालिकादेखि ७० वर्षभित्रका सबै उमेर समूह यहाँ आउँछन्,” उहाँले भन्नुभयो । रमाइलो गर्दै तौल घटाउन सकिने भएकैले जुम्बा बजारमा फेसन बनिसकेको उहाँको अनुभव छ । तर जुम्बा नृत्यसहित खानपिनमा क्यालोरी मिलाए मात्र तौल घट्ने उहाँ बताउनुहुन्छ । 

जुम्बामा बेसिक, गोल्ड, आक्वा, गोल्ड टोयनिङ, इन द सर्किट, टोयनिङ, अटोमिक, जुम्बा सेन्टो, जुम्बा किड्स आदि स्टेप हुन्छन् । जुम्बा क्लास व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । सिकारु र वृद्धहरूका लागि जुम्बा बोल्ड, स्विमिङ पुलमा गरिने अक्वा जुम्बा, बालबालिकाका लागि जुम्बा किड्स, जुम्बा बेसिक स्टेप, कुर्सीको सहारामा गरिने जुम्बा सेन्टर सञ्चालनमा छन् । 

जुम्बामा चारवटा रिदम हुन्छन् साल्सा, मेरिङ्गे, बेग्रेटोन तथा कुम्बिया । यी रिदमको मिश्रणले म्युजिक उत्कृष्ट बन्छ । जुम्बाका लागि प्रयोग गरिने सङ्गीतको प्ले लिस्ट महŒवपूर्ण हुन्छ । जति बेला पनि उफारेको उफा¥यै गरेर हुँदैन । हाई र लोको मिश्रण गर्नुपर्छ । 

जुम्बा कक्षाका लागि दुई हजार पाँच सयदेखि चार हजार पाँच सय रुपियाँसम्म मासिक शुल्क लाग्छ । जुम्बा डान्स सन् १९९० को दशकमा कोलम्बियाली कोरियोग्राफर अल्बेर्टो बेटो पेरेजले सुरुवात गरेका हुन् । हाल विश्वका १८५ देशमा यसको अभ्यास गरिन्छ ।