• २१ असोज २०८१, सोमबार

‘सहकारी जीविकोपार्जन गर्ने हुनुपर्छ’

blog

कार्यक्रममा सहभागी अतिथिहरु ।

बिन्दु थापा 

पाल्पा, असोज २१ गते । सहकारीले सर्वसाधारणका साना आवश्यकता पूरागरी जीविकोपार्जनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । नागरिक सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको पाँचौ बार्षिक साधारण सभामा बोल्ने बक्ताले यस्तो बताएका हुन् । 

अहिले सहकारी भन्नेबित्तिकै आम मानिस सशंकित हुने अवस्था रहेकाले सहकारीले समुदायमा आधारित, सुशासनमा टेकेर सञ्चालन गर्नुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले बताउनुभयो । रानाले भन्नुभयो, “सहकारी संस्थाले आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन्, तर पछिल्लो समय कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि समग्र सहकारी अभियानप्रति प्रश्न उठ्न थालेको छ ।”

सहकारीको मर्मअनुसार सामूहिक हितमा र समुदायमा आधारित भई काम गरिरहेको भए पनि जनमानसमा नकारात्मक कुराहरु बढ्दै गएको नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो ।  सहकारीको मूल्य मान्यता बुझेर सामूहिकता र पारदर्शितामा काम गर्ने सहकारी सफल र प्रभावकारी हुने श्रेष्ठको भनाइ छ । 

यस्तै, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सहकारीको उदाहरणीय कामले समुदाय र सहकार्यका कारण उद्यममा सहयोगी बनिरहेका सहकारीले उत्पादन र रोजगारी सिर्जनामा भूमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष झमनबहादुर मगरले सहकारीले जनताका घरदैलौमा पुगेर काम गर्न चुनौती रहेको बताउनुभयो । उहाँले अध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

उपाध्यक्ष पुर्षोतम अर्याल, कोषाध्यक्ष शान्ति झेडी थापाले कोषाध्यक्षको प्रतिवेदन, लोकनाथ अधिकारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सरकार र जनताको बिचमा रहने संस्था भएकाले जनताको आधारभूत आवश्यकता पूरा गर्न राज्य सबै ठाउँ नपुग्दा सहकारीले राज्यको दायित्व पूरा गर्नेगरी काम गर्नपर्ने बताउनुभयो ।

यस्तै सहकारीले ज्येष्ठ सदस्य तिनाउ गाउँपालिकाका ९५ बर्र्षीय ज्ञानबहादुर थापा, तानसेन नगरपालिकाका ८२ बर्षिय इन्द्रबहादुर रावललाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो  ।