• २१ असोज २०८१, सोमबार

दुध किसानलाई १७ करोड भुक्तानी

blog

विराटनगर समाचारदाता

विराटनगर, असोज २१ गते । भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन । दुध ढुवानी गर्न सक्ने अवस्था नभएपछि चिस्यान केन्द्र अन्तरगतका दुध सङ्कलन केन्द्र र सहकारी संस्थाहरूले किसानबाट दुध सङ्कलन बन्द गरेका छन् । 

इलामको शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट हुने दुध ढुवानी पूर्णरुपमा बन्द भएको हो । विराटनगरसम्म दुधको ट्याङ्कर जानसक्ने अवस्था नहुँदा चिस्यान केन्द्रहरूले दुध सङ्कलन बन्द गरेको आयोजनाले जनाएको छ । विराटनगरस्थित आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापा मगरले ती दुई चिस्यान केन्द्रहरूबाट दैनिक २ हजार ५०० लिटरभन्दा बढी दुध सङ्कलन हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "शान्तिडाँडाबाट दैनिक करिब १५०० र बिब्ल्याँटेबाट दैनिक सरदर एक हजारदेखि १२ सय लिटरसम्म दुध सङ्कलन हुने गरेको थियो तर अहिले बाटो बिग्रिएका कारण त्यहाँसम्म ट्याङ्कर पुग्नसक्ने अवस्था छैन, त्यसले गर्दा किसानबाट दुध सङ्कलन बन्द गरिएको छ ।"

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको कामसमेत रोकिएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने बताउनुभयो । 

"तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेर मात्र अघि बढ्नेछौँ," उहाँले भन्नुभयो, "जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।" सडक कहिलेसम्म मर्मत भई सञ्चालनमा आउँछ भन्ने नै अनिश्चित रहेको र अरू बाटोबाट ट्याङ्कर चिस्यान केन्द्रसम्म जाने र दुध ल्याउन सकिने अवस्था तत्काल नरहेको आयोजनाले जनाएको छ । 

दसैँको मुखमा किसानहरूले दुध बिक्री गर्न नपाउँदा उत्पादन भएको दुध खेर जाने देखिएको छ । गएको मङ्सिर महिनादेखि दुधको भुक्तानी नपाएका किसानहरूले यसै सातामात्र पाँच महिनाको रकम भुक्तानी पाएका थिए । डिडिसीले चार महिनाको रकम भुक्तानी दिएलगतै फेरि बाढी पहिरोले दुध नै बिक्री नहुने अवस्था आउँदा किसानहरू थप समस्यामा परेका हुन् । 

दुध किसानलाई १७ करोड भुक्तानी

संस्थानको विराटनगर आयोजनाले किसानहरूलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी दिएको छ । गतवर्षको मङ्सिर महिनादेखि किसानबाट किनेको दुधको भुक्तानी दिएको थिएन । डिडिसीले नेपाल सरकारबाट सर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले त्यसमध्येबाट १६ करोड ८ लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकममा आयोजनाले आन्तरिक स्रोतबाट प्राप्त गरेको थप एक करोड रुपैयाँसमेत मिलाएर किसानहरूलाई चैत महिनासम्मको १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको हो । विराटनगर आयोजनाले अझै असोज बाहेक ५ महिनाको १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख थापा मगरले बताउनुभयो । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनु पर्ने उहाँको भनाइ छ । 

विराटनगर आयोजनाले अहिले दैनिक सरदर १३ हजार लिटर दुध सङ्कलन गरिरहेको जनाएको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै सङ्कलन केन्द्रले सङ्कलन गरेको र  मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाहरूले सङ्कलन गरेको दुध आयोजनाले खरिद गरिरहेको छ । 

डिडिसीले बजारमा बिक्री नभई बढी भएको दुधलाई पाउडर बनाएर स्टकमा राख्ने गरेका कारण ठुलो परिमाणमा पाउडर दुध र बटर मौज्दात हुनगई चालु पुँजीको अभाव झेल्दै आएको छ । जसले गर्दा किसानहरूलाई नियमित भुक्तानी दिन नसक्ने अवस्था उत्पन्न भएको हो । विराटनगर आयोजनामा अहिले ८२ हजार किलो पाउडर दुध र ९६ हजार किलो मख्खन स्टकमा रहेको जनाएको छ । 

डिडिसीले दैनिक रूपमा सरदर २५ सय लिटर दुध बिक्री गर्ने गरेको छ भने करिब ६ सय लिटर दही र ६० किलोजति पनिर बिक्री गरिरहेको छ । चाडबाडको समडमा दुधजन्य उत्पादनको मूल्य घटाएका कारण तुलनात्मकरुपमा बिक्री केही बढेको थापा मगरले जानकारी दिनुभयो ।