• २१ असोज २०८१, सोमबार

राष्ट्रपतिसमक्ष थारु र मुस्लिम आयोगको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै ।

काठमाडाैँ, असाेज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्त्वपूर्ण माध्यम रहेको बताउनुभयो । थारु समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उहाँको भनाइ छ ।

“आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपी, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।


 मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गर्नुहुँदै । 

यस्तै, देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको सन्दर्भमा सोहीबमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । 

उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास  समेत व्यक्त गर्नुभयो ।