• २१ असोज २०८१, सोमबार

बाढीले एकसय घरधुरीमा क्षति

blog

असोज १२ गते आएको बाढीले गरेको क्षति । फाइल तस्बिर

मीना कंडेल

कावासोती, असोज २१ गते । असोज ११ र १२ गते आएको बाढीले पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा एकसय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदन आएको छ ।  

नारायणी नदी तटीय क्षेत्रमा रहेका वडा नं. २, ३, ४, ६, १२ र १५ मा बाढी र डुबानले चारसय ३१ घरमा क्षति गरेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । 

मध्यविन्दु वडा २ को सेहरीमा तीनसय १० घरधुरीमध्ये ७० घरधुरीमा पूर्ण रूपमा क्षति पुगेको वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । यसैगरी वडा ६ का ६२ घरधुरीमध्ये १८ घरधुरी र वडा १५ को ५९ घरधुरीमध्ये १२ घरधुरी पूर्णरुपमा क्षति पुगेको छ । 

बाढीले करिब पाँचसय हेक्टर ३६ क्षेत्रफल कृषि बालीमा क्षति पुगेको छ । कागतीमा छ कठ्ठामा ६० हजारको क्षति पुगेको छ । तरकारी र फलफूलमा ८ दशमलव ५ हेक्टर क्षति पुगेको छ । यसबाट दुई करोड, २२ लाख ४८ रकम बराबरको अन्नबाली, एघार लाख तीन हजार ६४० तरकारीमा क्षति पुगेको मध्यविन्दु नगरपालिका सहायक प्रशासकीय अधिकृत विकास नरसिंह राणाले जानकारी दिनुभयो ।

यसैगरी बाढीका कारण नगरपालिका भित्र २२ हजार ५७३ घरपालुवा पशुपन्क्षी मरेका छन् । यसबाट २० लाख ६७ हजार दुई सयको क्षति पुगेको छ । यस्तै, १३ दशमलव ३३ हेक्टर माछा पोखरी, ५० बिघा पराल र ७० हजार अण्डामा क्षति पुगेको उहाँले बताउनुभयो ।

जिल्लामा खाद्यबालीमा बढी क्षति पुगेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । अझै क्षतिको यकिन तथ्याङ्क आउन बाँकी रहेको भए पनि जिल्लामा करिब सातसय ९५ घरमा आंशिक रूपमा क्षति पुगेको उहाँले बताउनुभयो । पशुपन्क्षीमा दुई सय ४६ हाँस र ४४ हजार पाँचसय कुखुरा मरेका छन् । धेरै माछा पोखरीको माछा बगाएको छ । यसबाट करिब १० करोड, नब्बे लाख, पाँच हजार ५२७ बरावरको क्षति भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।