• २१ असोज २०८१, सोमबार

‘दिलमायाको चिया दोकान’ लोकार्पण

blog

दिलमायाको चिया दोकान गीतको लोकार्पण कार्यक्रमका अतिथि । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २१ गते । गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ नामक गीत लोकार्पण गरिएको छ । साना व्यवसायीको सम्मान तथा ताप्लेजुङका पर्यटकीय स्थलको प्रवर्धनमा केन्द्रित शब्द समेटिएको गीत दिलमायाको चिया दोकानको सदरमुकाम फुङ्लिङमा कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो ।

फुङ्लिङस्थित होटल जन्नु इनमा आइतबार आयोजित कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गीतको लोकार्पण गर्नुभयो । ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका गीतकार भट्टराईको शब्द रहेको गीत पाथीभरा क्रिएसन हाउसमार्फत बजारमा ल्याइएको छ । 

लोकार्पण गरिएको उक्त गीतको म्युजिक भिडियोको छायाङ्कन पनि करिब सम्पन्न भइसकेको पाथीभरा क्रिएसन हाउसका प्रोप्राइटर हर्कराज गुरुङले जानकारी दिनुभयो । गुरुङकाअनुसार छायाङ्कनपछि सम्पादनको काम भइरहेको छ । गीतमा सङ्गीतकार राजनराज शिवाकाटीले सङ्गीत, मिलन नेवार र इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ । 

गीत रेकर्ड र म्युजिक भिडियो निर्माण गर्न भूमिका खेल्नुभएका गायक श्रेष्ठले साना उद्यमीको व्यावसायिक लगावको सम्मान र यहाँका पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवर्धनमा टेवा गर्नेगरी गीतका शब्दहरू चयन भएको बताउनुभयो । गीतकार भट्टराईले ताप्लेजुङमा सेवारत रहँदा ताप्लेजुङको शिरैमा सेतो जुहार बोलको गीत लेख्नुभएको छ । सो गीतको रेकर्डसँगै यसअघि नै म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । 

त्यस्तै, उहाँले ताप्लेजुङको पर्यटकीयस्थल ओलाङ्चुङगोलाको सेरोफेरोलाई समेटेर अर्को गीत पनि लेख्नुभएको छ । गीतकार भट्टराईका अनुसार उक्त तेस्रो गीत पनि रेकर्ड भइसकेको र चाँडै लोकार्पणसँगै बजारमा ल्याउने तयारी भइरहेको छ । 

साहित्यकारसमेत रहनुभएका भट्टराई ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा दुई वर्ष तीन महिनासम्मको लामो समयावधिपछि उहाँको डेढसाता अघिमात्र राष्ट्रिय महिला आयोगमा सरुवा भएको छ । 

ताप्लेजुङमा रहँदै भट्टराईले ठाँटीको घाम नामक उपन्यास प्रकाशित गरी यहीँ सार्वजनिक (विमोचन) समेत गर्नुभएको थियो । उहाँले ताप्लेजुङको साहित्य क्षेत्रलाई चलायमान र थप ऊर्जा दिनका लागि सक्रिय भूमिकासमेत निर्वाह गर्नुभएको छ । गीतको लोकार्पण कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतको उपस्थिति रहेको थियो ।