• २१ असोज २०८१, सोमबार

गाउँमा युवा फर्केपछि बढ्यो दसैंको रौनक

blog

वालिङ नगरपालिका –२ सिरुवारेका युवाहरु लिङ्गे पिङ बनाउन काठ काट्दै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, असोज २१ गते । विभिन्न कामका लागि गाउँभन्दा बाहिर रहेका युवाहरु गाउँ फर्कन थालेपछि स्याङ्जामा दशैको रौनक बढेको छ । शहर–बजार तथा विदेशमा रहेका युवाहरु दसैं मनाउन गाउँमा फर्कनेक्रम जारी छ ।  

युवाहरु गाउँमा फर्केर संस्कृति जोगाउन भन्दै विभिन्न काम गर्न सुरु गरेका छन् । कतिपय युवाहरु पिङ बनाउन व्यस्त देखिन्छन् । कतिपय युवाहरु मन्दिरसहित सार्वजनिक स्थलको संरक्षणमा जुटेका छन् । 

युवा जति विदेश गएपछि सुनसान बन्दैआएको आफ्नो गाउँमा यो पटक भने निकै चहलपहल हुन पुगेको वालिङ नगरपालिका –१० का सूर्यप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो बर्षभन्दा यो पटक राम्रो चहलपहल भएको महसुस गरेको छु ।” वालिङ –१० का युवाहरु मिलेर गाउँकै महाकाली मन्दिरमा विशेष पूजा र सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको उहाँको भनाइ छ । 

गाउँमा युवा कम छन्, तर गएको बर्षभन्दा धेरै जम्मा भएका छौं, कतारबाट फर्किनु भएको नारायणप्रसाद डुम्रेले भन्नुभयो ।

वालिङ नगरपालिका –२ सिरुवारेका युवाहरुले गाउँमा पिङ राख्नु भएको छ । युवाहरुको सक्रियतामा आफूहरुले गाउँमा नै लिङ्गे पिङ राखेको स्थानीय युवा अनिल रानाले बताउनुभयो । 

युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता हराउँदै गएको भन्दै जिल्लाका विभिन्न ठाउँका युवाहरुले सक्रियता देखाएका छन् । बडादसैको अवसरमा गाउँ–गाउँमा भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुन गइरहेको वालिङ –१२ का श्याम गुरुङले बताउनुभयो । 

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले वालिङमा पहिलो पटक पालिकास्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । समितिमा आवद्ध रहेका विभिन्न देशका प्रतिनिधि तथा विभिन्न देशका समितिका सदस्य समेत जिल्ला आउनेक्रम सुरु भएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष विरेन्द्रजंग केसीले जानकारी दिनुभयो ।