• २१ असोज २०८१, सोमबार

उपभोग्य वस्तुको अनुगमन : म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

blog

बजार अनुगमन । फाइल तस्बिर ।

काठमाडौँ, असोज २१ गते । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएका छन् । 

८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएका छैनन् । ६२ वटाको व्यवसाय दर्ता थिएन । यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । चाडपर्वमा फलफूल, माछामासु, दुध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुनसक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन्। यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रूपमा देखिएका छन् । 

पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिज लगायत बिस्कुटहरू, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरू, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ । 

अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नवीकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ । 

उपभोक्ताहरूले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो । 

फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । ‘सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो ।