• २१ असोज २०८१, सोमबार

प्लाष्टिकका फूल र माला विक्री वितरणमा प्रतिबन्ध

blog

फाइल तस्बिर

इमान सिं राना

रामपुर (पाल्पा), असोज २१ गते । जिल्लाको रामपुर नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। नगरभित्र प्लाष्टिकजन्य फूल तथा माला विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

प्लास्टिक जन्य फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने समस्या देखिएको भन्दै आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै स्थानीय कृषकले उत्पादन गरेको प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँणले दशैं लगत्तै व्यवसायीहरुले तिहारलाई लक्ष्यित गरी प्लष्टिकका फूल तथा मालाहरु आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले चाँडै निर्णय गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले कार्यापालिकाको निर्णयलाई कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य फूल, माला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । अनुगमनको क्रममा बजारमा प्लास्टिकजन्य फूल तथा माला भेटिएमा कानुनी व्यवस्था अनुसार कारबाही गर्ने बताउनुभयो । 

नगरप्रमुख रमणबहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लाष्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लाष्टिकका मालालाई प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो । 

वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो । उहाँले नगरपालिकाले व्यवसायिक रुपमा फूलखेती गर्दै आएका कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

नगरपालिकाको निर्णयलाई व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । रामपुर नगरपालिका–४, देवीस्थानका पुष्प व्यवसायी दिलबहादुर थापाले स्थानीय सरकारको निर्णयले थप उत्साह प्रदान गरेको बताउनुभयो ।