• २१ असोज २०८१, सोमबार

सडेको मासु बिक्री गर्ने व्यवसायीलाई २५ हजार जरिवाना

blog

सिराज खान 

नेपालगन्ज, असोज २१ गते । चाडपर्वकोबेला नेपालगन्ज बजारमा ठुलो परिमाणमा अखाद्य, सडेको र गुणस्तरहीन मासु र माछा बिक्री भइरहेको पाइएको छ । संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्ने क्रममा नेपालगन्जका विभिन्न मासु र माछा पसलको अनुगमन गर्दा अखाद्य, गुणस्तरहीन र सडेको १७३ केजी मासु र माछा फेला पारेपछि सो मासु नष्ट गर्नुका साथै व्यवसायीलाई २५ हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले दिनुभएको जानकारी अनुसार नगरका १९ वटा मासु पसलमा अनुगमन गर्दा १७३ केजी सडेको र गुणस्तरहीन मासु फेला परेपछि जरिवाना तिराएर मासु र माछा नष्ट गरिएको हो । उहाँले बजार अनुगमनका क्रममा विभिन्न पसलबाट अखाद्य, गुणस्तरहीन र सडेको ५८ केजी खसीको मासु, १०५ केजी कुखुराको मासु र १० केजी माछा फेला परेको जनाउँदै सो नष्ट गरिएको बताउनुभयो । 

सो क्रममा अनुगमन समितिले वडा नम्बर १५ मा रहेको को मो.सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नम्बर २० मा रहेको दानिस फ्रेस हाउसलाई पाँच हजार गरेर २५ हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख खत्रीले बताउनुभयो । उहाँले अन्य विभिन्न पसललाई सरसफाइमा ध्यान दिन तथा ताजा र गुणस्तरीय मासु र माछा मात्र बिक्री गर्न निर्देशन दिइएको बताउनुभयो । 

चाडपर्वको समयमा अहिले बजारमा विभिन्न किराना पसलमा म्याद नाघेका खाद्य पदार्थ, मिठाई पसलमा गुणस्तरहीन बासी र अखाद्य मिठाई, मासु पसलमा अखाद्य मासु खुला रूपमा बिक्री भइरहेकोले बजार अनुगमनलाई निरन्तर जारी राख्नु पर्ने स्थानीयको माग छ । 

नेपालगन्ज नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठले अहिले बजारमा खाने कुरा बिक्रीमा निकै मनपरी र बेवास्ता गरेर मिसावट गरेका, अखाद्य, म्याद नाघेका र सडेगलेका सामान समेत बिक्री गर्ने कार्य भइरहेको जनाउँदै सो तर्फ सम्बन्धित निकाय चनाखो हुनु पर्ने माग गर्नुभयो ।