• ७ वैशाख २०८१, शुक्रबार

बलियो हुँदै नेपाली क्रिकेट

blog

प्रजित शाक्य

जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त शृङ्खला थिएन । नेपाल आउने जिम्बाब्वेको ‘ए’ टिममा स्टार खेलाडी पनि थिएनन् तर आठ जना त्यस्ता खेलाडी थिए, जसले जिम्बाब्वेको राष्ट्रिय टिमबाट टेस्ट अथवा एकदिवसीय खेल खेलिसकेका थिए । त्यसैले घरेलु मैदानमा नै भए पनि जिम्बाब्वेको चुनौती पार गर्न नेपाललाई कठिन हुने अनुमान गरिएको थियो तर नेपालले आफ्नो भूमिमा जिम्बाब्वे ‘ए’लाई शृङ्खला जित्न दिएन । वर्षाका कारण दुई खेल मात्र सम्भव भएको तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–१ ले बराबरीमा रोकियो तर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पारेर यस शृङ्खलालाई अविष्मरणीय बनायो । जिम्बाब्वे ‘ए’ टिमलाई हराएपछि नेपालको प्रशंसा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत गरेका छन् ।

जिम्बाब्वेले शृङ्खलाको सुरुवात बलियो टिमको छविअनुसार नै ग¥यो । पहिलो खेल जिम्बाब्वेले छ विकेटले जितेपछि नेपाललाई यो शृङ्खला कठिन हुने देखिएको थियो । अझ दोस्रो टी–२० मा वर्षा भएपछि घरेलु मैदानमा शृङ्खला हारबाट जोगिन नेपाललाई अन्तिम टी–२० जित्नैपर्ने बाध्यता आयो । यस्तो दबाबको खेल नेपालले जिम्बाब्वेलाई एकपक्षीय रूपमा आठ विकेटले जितेर शृङ्खला बराबर ग¥यो । बलियो टिमविरुद्ध शृङ्खला जोगाउने खेलमा नेपालको यो प्रदर्शन साँच्चिकै गजबको थियो । त्यसपछि एकदिवसीय शृङ्खलाको सुरुवात पनि फरक थिएन । जिम्बाब्वे ‘ए’ले तीन विकेटले पहिलो खेल हात पा¥यो । नेपालले एकदिवसीयमा पनि शानदार पुनरागमन ग¥यो । बाँकीका दुई खेलमा जिम्बाब्वे ‘ए’लाई सजिलै हराएर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पा¥यो । यी खेलले दबाबमा अझ राम्रो प्रदर्शन गर्ने खुबी भएको नेपाली क्रिकेट टिमले देखाएको छ ।

त्यसो त अन्तर्राष्ट्रियस्तरमा पाइला टेकेपछि नेपालले आफूसँग उच्चस्तरीय क्रिकेट खेल्ने क्षमता छैन भन्ने महसुस गर्न दिएको छैन । ठूलाठूला शृङ्खला जितिरहेको छ । जिम्बाब्वे ‘ए’विरुद्धको शृङ्खला जितले नेपाली क्रिकेटको बदलिएको तस्बिर छर्लङ्ग हुन्छ । पछिल्ला समयमा नेपाली क्रिकेटले धेरै महìवपूर्ण फड्को पार गरेको छ । गत वर्षको मात्र कुरा गर्ने हो भने नेपाली क्रिकेटले मलेसिया र नेदरल्यान्ड सम्मिलित त्रिदेशीय क्रिकेट शृङ्खला जित्यो । नेपालले तीन देश सहभागी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको यो पहिलो पटक हो । विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल राम्रै स्थितिमा छ । मलेसिया र पीएनजी सामेल टी–२० शृङ्खलामा च्याम्पियन बन्यो । यसबीच नेपाली क्रिकेटले निराश पनि नपारेको होइन । 

नेपालले घरेलु मैदानमा पीएनजीसँगको दुई खेलको एकदिवसीय शृङ्खलामा अनपेक्षित रूपमा ह्वाइटवास भयो । आईसीसी ग्लोबल टी–२० विश्वकप छनोटमा समूह चरणका तीन खेल जितेर समूह विजेताको हैसियतमा नकआउट चरणमा पुगेपछि फाइनलमा रूपान्तरित खेलमा संयुक्त अरब इमिरेट्ससँग हारेपछि नेपाल विश्वकप टी–२०, २०२२ खेल्ने अवसरबाट वञ्चित भएको थियो । जुन निकै दुःखद रह्यो । यद्यपि समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको जितको प्रतिशत उच्च छ ।

खेल र खेलाडीहरूमा गुणात्मक सुधार आएको छ । नेपालमा पनि हाल केही राम्रा क्रिकेट एकेडेमी खुलेका छन् । जसले लगातार प्रतिभाशाली क्रिकेटर अगाडि आइरहेका छन् । ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरजस्ता अनुभवी खेलाडी टिममा बाहिर परेपछि पुनः राष्ट्रिय टिममा स्थान बनाउने ढोका खुल्न सकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टिममा मौका पाएका प्रत्येक खेलाडीले अवसर नगुमाउँदा यो स्थिति आएको हो । जसले नेपालको बेन्च स्ट्रेन्थ बलियो देखिन्छ । आफ्नो प्रदर्शन राम्रो भएन भने टिमबाट हट्न सकिन्छ भन्ने डर क्रिकेटरको मनमा जागेको स्थिति हो यो । अहिले राष्ट्रिय टिममा ढोका घच्घच्याउने क्रिकेटको फौज तयार पार्नुपर्छ, जुन नेपाली क्रिकेटको उज्ज्वल भविष्यका लागि निकै सुखद कुरा हो । नेपाली क्रिकेटमा यतिखेर सन्दीप लामिछानेको नेतृत्व र पुबुदु दसनायकेको प्रशिक्षकत्व रहेको छ । जिम्बाब्वे ‘ए’विरुद्ध नेपाली खेलाडीको प्रदर्शन हेर्ने हो भने सबैले आआफ्नो भूमिका ठीकठाक तरिकाले निर्वाह गरे । तेस्रो खेलमा कुशल भुर्तेलले ८४ र दीपेन्द्र सिंह ऐरीले ६० रनको विशेष पालि खेल्नुभयो । कुशलको ब्याट् टी–२० मा पनि चल्यो । ओपनर आसिफ शेखले निर्णायक टी–२० मा खेलेको ८७ रनको पालि नेपाली क्रिकेटप्रेमीको मानसपटलमा पछिसम्म ताजा रहने पक्का छ ।

तेज बलर किशोर महतोले नेपालको सिनियर टिमका लागि पहिलो खेलमा नै पाँच विकेट लिएर नेपालको शृङ्खला जितमा ठूलो योगदान दिनुभयो । उहाँले शृङ्खलाको अन्तिम खेलमा मात्र मौका पाउनुभएको हो । राष्ट्रिय टिममा पुनरागमन जनाएका सुनील धमलाले पनि प्रारम्भिक ब्याट्सम्यानका रूपमा आफूलाई राम्रो विकल्प साबित गर्नुभयो । कप्तान सन्दीपलगायत करण केसी, सोमपाल कामीजस्ता प्रमुख बलरलाई पनि विकेटको कमी भएन तर सन्दीपले तेस्रो खेलमा आफ्नो स्वभावविपरीत निकै रन खर्चिनुभयो ।

जिम्बाब्वेविरुद्धको शृङ्खलाले बसिर अहमदका रूपमा नेपाललाई एक भरपर्दो स्पिनर प्राप्त ग¥यो । शृङ्खलाकै पहिलो खेलमा डेब्यू गरिरहेका १८ वर्षीय बसिर अहमदले मात्र राम्रो बलिङ गर्नुभएको थियो । जिम्बाब्वे ‘ए’का ब्याट्सम्यानहरूले नेपालका प्रमुख बलरहरूविरुद्ध चौकाछक्काको बर्सात गरिरहेको समयमा बसिरको बलिङमा भने उनीहरूलाई रन बनाउन पनि धौधौ परेको थियो । सुरुमा टी–२० मा मात्र टिममा रहेका बसिरले शानदार प्रदर्शनपछि एकदिवसीय खेल्ने उपहार पनि पाउनुभयो । जिम्बाब्वे ‘ए’ले जितेको पहिलो खेलमै अर्का युवा ब्याट्सम्यान मोहम्मद आदिल आलमले २७ बलमा सर्वाधिक ४७ रन बनाएर आफ्नो उपयोगिता साबित गर्नुभयो । अहिले आदिल नेपाली टिममा फिनिसरको भूमिकामा सबभन्दा राम्रो चयन हो भन्दा गलत नहोला । जिम्बाब्वे ‘ए’विरुद्धको शृङ्खलामा नेपाली टिमको कमजोरी भनेको अस्थिर प्रदर्शन रह्यो । कुनै पनि प्रतियोगिता जित्न एक, दुई खेलमा राम्रो गरेर पुग्दैन, स्थिर प्रदर्शन चाहिन्छ । अझ दबाब झेल्ने गुण हुनुपर्छ । प्रतिकूल परिस्थितिमा पनि आफूलाई ढाल्न सक्ने टिम मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा सफल हुन्छ । जिम्बाब्वेविरुद्ध नेपालले दबाबमा त राम्रो खेल्यो तर शृङ्खलाभर एकनाश प्रदर्शन गर्न सकेन । अहिले नेपाली टिममा स्थिर प्रदर्शन प्रश्नका रूपमा तेर्सिएको छ । नेपालले अर्को महिना अमेरिकामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को महìवपूर्ण शृङ्खला खेल्नेछ । जहाँ नेपालले लगातार एकनासले राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

जिम्बाब्वे ‘ए’विरुद्धको शृङ्खला आगामी महिना अमेरिकाको टेक्सासमा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि नै अभ्यास शृङ्खला थियो । सन् २०१९ मा सुरु भएर २०२३ सम्म चल्ने विश्व क्रिकेट लिग २ विश्वकप एकदिवसीय क्रिकेट २०२३ का छनोट प्रतियोगता पनि हो । सात टिम सामेल यस प्रतियोगताबाट तीन टिम विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् । पुछारमा रहेका चार टिमले प्लेअफ खेल्नेछन् । नेपाल छैटौँ स्थानमा रहेको छ । यद्यपि नेपालले अहिलेसम्म सबभन्दा कम १२ खेल मात्र खेलेकाले अङ्क तालिकामा तल छ । यस प्रतियोगतामा नेपालको जितहारको प्रतिशत हेर्ने हो भने पचास–पचास रहेको छ । त्यसैले नेपालको विश्वकपमा चयन हुने सम्भावना कायम छ । यसका लागि अमेरिकामा हुने शृङ्खला नेपालका लागि निकै महìवपूर्ण हुनेछ । जहाँ घरेलु टिम अमेरिका र अङ्क तालिकामा शीर्ष स्थानमा रहेको ओमानविरुद्ध नेपालले कुल चार खेल खेल्नेछ । नेपालमा क्रिकेटको क्रेज एकदम राम्रो छ । नेपाली टिमले विदेशमा खेल्दा पनि त्यहाँ रहेका नेपाली क्रिकेट समर्थकको राम्रो उपस्थिति हुन्छ । अझ टेक्सासमा नेपालीको बाक्लो उपस्थिति रहेको छ । त्यसैले अमेरिकामा खेल्दा नेपाली क्रिकेट समर्थक रङ्गशालामा उर्लिने पक्का छ । जसले नेपाललाई ठूलो फाइदा पु¥याउनेछ ।