• २१ असोज २०८१, सोमबार

म्याद सकिएका खाद्यसामग्री नष्ट

blog

म्याद सकिएको पेय पदार्थ नष्ट गरिँदै । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु असोज २१ गते । कपिलवस्तुमा चाडपर्वको सिजन सुरु भएसँगै कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल प्रहरीसहितको टोलीले कपिलवस्तुका मुख्य व्यापारिक क्षेत्रमा संयुक्त रूपमा बजार अनुगमन गरेको छ ।

अनुगमन टोलीले किराना पसल, खाद्य उद्योग, थोक व्यापार पसल र मिठाइ पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा राजमार्गका पसलबाट म्याद नाघेका पेय पदार्थ, लेभल नभएको र लेभल हटाएर स्टिकर टाँसेका खाद्यपदार्थ, राजस्व छली गरी ल्याइएका सुर्ती नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रजिअ परमानन्द घिमिरेले बताउनुभयो ।

बुद्धभूमि र शिवराजको बेकरी (पाउरोटी) उद्योग अनुगमन गर्दा अत्यन्त फोहाेर पाइएको थियो । उद्योगमा प्रयोग गरिएको तेल खान अयोग्य भएकाले ५० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका खाद्य निरीक्षण अधिकारी सरोज खनालले बताउनुभयो । 

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यपदार्थ बेच्ने, मूल्यसूची टाँस नगर्ने, इजाजत नलि व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका नासु बाबुराम शर्माले बताउनुभयो । शनिवार ४० हजार बराबरका म्याद गुज्रेका खाद्यपदार्थ नष्ट गरिएको छ ।