• २१ असोज २०८१, सोमबार

पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई राहत वितरण

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज २१ गते । गत असोज ११ गते राती झ्याप्ले खोला पहिरोमा परेर ज्यान गुमाएकामध्ये दुई जनाको परिवारलाई जनही २ लाख ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ । केही दिन अघि परेको अविरल वर्षाका कारण गोरखाको लापुबेंसीबाट काठमाडौंका लागि हिँडेको बस पहिरोमा परी ज्यान गुमाएका परिवारलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।  

जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले मृतक परिवारको घरमै पुगेर सोमबार परिवारलाई २ लाख ५० हजार रुपियाँ पहिरो पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको हो । 

गोरखाको लापुबेंसीबाट काठमाडौंको लागि गएको गोरखा दरौदी यातायात कम्पनी प्रालिको ना ४ ख २२७० नम्बरको उक्त बस पहिरो पर्दा गोरखाका ५ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएकामध्ये बसचालक तथा साहु मदन परियार, सोही सवारीसाधनका सहचालक गण्डकी गाउँपालिका–४ फुलेलका तिवारीको परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाल सरकारले तोकेको मापदण्ड अनुसार मृतकको परिवारलाई राहात रकम बितरण गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट आएको दुई लाख र प्रदेश सरकारबाट आएको ५० हजार रुपैयाँ राहत रकम परिवारलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । 

सोहि घटनामा ज्यान गुमाएका धार्चे गाउँपालिका–७ खानीगाउँका सुक बहादुर गुरुङको परिवालाई दशै लगत्तै र अर्का नबराज पन्त र बिनायक भट्टराईको परिवार बसाइँसराइ गरी चितवन गएकाले चितवनमार्फत राहत रकम उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । 

बाढीमा परी मृत्यु भएकी बालकुमारी श्रेष्ठ असोज १२ गते शहिदलखन गाउँपालिका–७ बुंकोट र वडा नम्बर ६ घैरुङको सिमाना भएर बग्ने सुकौरा खोलाले बगाएर लगेपछि त्यसको २ दिनपछि सुकौरा खोलाको किनारमा शव भेटिएको थियो । 

गोरखामा बाढी र पहिरो परी ज्यान गुमाएको परिवारले सबैले राहत रकम पाइसकेका जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।