• २० असोज २०८१, आइतबार

अभ्यास खेलमा नेपाल विजयी

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २० गते । आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीमा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा क्यानडाको हाइप्रोफमेन्स (एचपी) टोलीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा नेपालले एचपी टोलीलाई २० रनले हरायो । यससँगै तीन खेलको सिरिन १–१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । सिरिजको अन्तिम तथा तेस्रो खेल मङ्गलबार हुनेछ । 

जितका लागि नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा सबै बिकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । एचपीका लागि ओलिभर कक्सले ३९, मुनिर अहमद काका ३६, अलि नदिम २०, युवराज शर्मा २३ र निकोलस मनोहरले १९ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झा र ललित राजवंशीले दुई दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । 

नेपालका लागि सोमपाल कामीले ३१, दीपेन्द्रसिंह ऐरीले २७, अनिलकुमार साहले २५, आरिफ शेखले १८, भीम सार्कीले १६ र देव खनालले १५ रन बनाउनुभयो । बलिङमा एचपीका लागि निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई र इफरान सादतले दुई दुई विकेट लिनुभयो ।