• २० असोज २०८१, आइतबार

हवाईयात्रा सहज हुँदै छ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे

blog

काठमाडौँ, असोज २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो । 

मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले चाडपर्वको बेलामा काठमाडौँ उपत्यकाबाट बाहिर जानेहरूको सङ्ख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताउनुभयो । 

यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको छ । सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गर्दै आएको जनाएको छ । 

यस पटक धेरै टिकटहरू पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको हो । मन्त्री पाण्डेले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्न सक्ने समयसम्म उडान गरिरहेको बताउनुभयो । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरैभन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताउनुभयो । 

रात्रिकालीन सेवामा अवतरणपछि गन्तव्य स्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरूसँग समन्वय गरे बढी भाडा नलिई यात्रुहरूलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताउनुभयाे ।  यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढङ्गले काम गरिरहेको बताउनु भयो । 

बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिने गरी मन्त्रालय लागिपरेको जनाएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी उडान गरिदिन आग्रह गरेका मन्त्रालयले जनाएको छ ।